२३औं सशस्त्र प्रहरी दिवस

सशस्त्र प्रहरीलाई प्रभावकारी रूपमा परिचालन गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री 

मंगलबार, माघ ९, २०८०

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र प्रहरी बललाई स्रोतसाधनको व्यवस्थासहित थप प्रभावकारी रूपमा परिचालन गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

आज २३औं सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सीमित पूर्वाधारका बावजुद राष्ट्रसेवाको भावनासहित कार्यक्षेत्रमा परिचालित शसस्त्र प्रहरीलाई थप व्यवस्थित बनाउन सरकार गम्भीर भएर लाग्ने बताएका हुन् ।

‘नेपालको सीमा सुरक्षार्थ समर्पित फौजको रूपमा हिमालदेखि तराईसम्मका कठिन भौगोलिक तथा वातावरणीय प्रतिकूलता तथा सीमित पूर्वाधारका बावजुद राष्ट्रसेवाको भावनासहित कार्यक्षेत्रमा परिचालित हुनुभएका सशस्त्र प्रहरीका जवान तथा अधिकृतहरूको योगदान महत्वपूर्ण छ ।’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यस सन्दर्भमा नेपालको सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरी बललाई श्रोतसाधनको व्यवस्थासहित थप प्रभावकारी रूपमा परिचालन गर्न नेपाल सरकार प्रतिवद्ध रहेको व्यहोरासमेत जानकारी गराउँछु ।’

प्रधानमन्त्री प्रचण्डले संक्रमणकालीन अवस्थाको पहिलो संविधानसभाको निर्वाचन २०६४ मा सशस्त्र प्रहरी बलले नेतृत्वदायी भूमिका खेलेको स्मरण गरे । उनले त्यसपश्चात २०७०, २०७४ र २०७९ सालमा सम्पन्न तीनै तहका निर्वाचनहरू शान्तिपूर्ण एवं निष्पक्ष ढंगबाट सम्पन्न गर्न सशस्त्र प्रहरीको महत्वपूर्ण भूमिका रहेको पनि बताए । प्रधानमन्त्री प्रचण्डले महत्वपूर्ण योगदानका निम्ति सकल दर्जाका सशस्त्र प्रहरी बलका राष्ट्रसेवकहरूमा आभार प्रकट गरे ।

साथै, २०७२ सालको विनाशकारी महाभूकम्प तथा पछिल्लोसमय बझाङ, जाजरकोट र पश्चिम रुकुममा गएको विनाशकारी भूकम्प लगायत विभिन्न समयमा घटेका प्राकृतिक तथा मानवसिर्जित विपद्मा कर्तव्यनिष्ठ तथा बहादुरीपूर्वक खटिएर सशस्त्र प्रहरी बलले जनताको जीवन रक्षामा महत्वपूर्ण योगदान पुर्याएको भन्दै प्रशंसा गरे । सशस्त्र प्रहरी बलद्वारा भविष्यमा समेत थप प्रभावकारी रूपमा कार्यसम्पादन हुने विश्वास व्यक्त गरे । –रासस

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १९:३८
प्रतिक्रिया दिनुहोस्