प्रहरी समायोजनमा प्रश्न

प्रहरी समायोजन गर्न नहुने मत राख्छन् पूर्वआईजी र पूर्वअधिकारी, कसले के भनेका छन्?

शनिबार, माघ ६, २०८०

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १५ दिनभित्र प्रहरी समायोजनको काम सक्नका लागि निर्देशन दिए पनि यो विषय विवादमा आउने देखिएको छ। 

प्रहरी समायोजनको काम अगाडि बढिरहेको बताइए पनि संगठनका अधिकारी नै रुष्ट छन् भने पूर्वमहानिरिक्षकलगायतका अधिकारीले पनि असन्तोषपूर्ण मत राखेका छन्। 

प्रहरीका पूर्वआईजी सर्वेन्द्र खनाल भन्छन्,‘प्रहरी समायोजन गर्न नै हुँदैन। अहिले जुन प्रकारले अगाडि बढाउने कोशिश गरिएको छ यसले राम्रो नतिजा दिँदैन, संगठनको भविष्य पनि डामाडोल हुने देखिन्छ।’

कुनै वैज्ञानिक अध्ययनबिना नै हुने समायोजन घातक हुन सक्ने पनि उनको बुझाई रहेको छ। भन्छन्,‘समायोजनको औचित्य के हो? अहिलेसम्म चलिरहेको संगठनको चेन नै भत्किने खतरा देखिन्छ।’

त्यसो त हतारमा समायोजन गरेर पछि पछुताउन नहुने मत राख्छन् पूर्वआईजी ओमविक्रम राणा। उनले भनेका छन्,‘अहिले जसरी समायोजनको विषय हतारमा गर्न खोजिएको छ यसलाई विचार गर्न आवश्यक छ। यसको असर कस्तो हुनेछ त्यसको सुक्ष्म अध्ययन गर्नु अहिलेको अनिवार्यता हो।’

प्रदेश सरकारले प्रहरी चलाउन नपाएको भनी प्रधानमन्त्री प्रचण्डसँग मुख्यमन्त्रीहरूले गुनासो गरेपछि गृहमन्त्रीसहित मन्त्रालयका अधिकारी, प्रहरी प्रमुख राखेर १५ दिनमा समायोजन सक्न निर्देशन दिइएको थियो। 

समायोजनले एक प्रदेशका प्रहरी र अर्का प्रदेशका प्रहरीबीच मनमुटाव हुने मत राख्छन् पूर्वडिआईजी तथा रास्वपा नेता रमेश खरेल। उनले अपराधी लुक्नका लागि सीमापार जानु नै नपर्ने स्थिति मात्र होइन, गोली हानाहानको अवस्था समेत आउन सक्ने खतरा औंल्याएका थिए। 

प्रहरी समायोजन सहज स्थिति नरहेको परिप्रेक्ष देखिए पनि दबाबमा रहेका आईजी बसन्तबहादुर कुँवरले नयाँ प्रस्ताव राखेका छन्। उनले समायोजनका क्रममा कम्तिमा ५ ग्रेड बढुवाको व्यवस्था हुनुपर्ने प्रस्ताव राखेपछि यसमा विचार भइरहेको छ। 

समायोजनका क्रममा प्रहरी अधिकारीको दुई ग्रेड मात्र बढुवा गर्ने प्रस्ताव थियो।
 

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  १०:१७
प्रतिक्रिया दिनुहोस्