‘अराजक’ हर्क साम्पाङको हर्कतविरुद्ध अदालतको आदेश

शुक्रबार, माघ ५, २०८०

काठमाडौं– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको हर्कतमा उच्च अदालत बिराटनगरले अन्तरिमसहित कारण देखाऊ आदेश जारी गरेको छ। 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपतिको कार्यकक्षमा ताला लगाउने मेयर साम्पाङविरुद्ध अन्तरिम आदेशसहित कारण देखाउन उच्च अदालतले भनेको हो। 
उच्च अदालत विराटनगरका न्यायाधीश श्रीधराकुमारी पुडासैनीको इजलासले उक्त आदेश दिएको हो।

साम्पाङ आफैंले उपकूलपति प्रह्लाद कार्कीको कार्यकक्षमा तालाबन्दी गरेका थिए। त्यसको भोलिपल्ट स्वास्थ्यमन्त्रीलाई पत्राचार गर्दै हर्कले कार्कीलाई खोजी गरी कारबाही गर्न माग गरेका थिए।

तालाबन्दीपछि सञ्जीवकुमार साहले दायर गरेको रिटउपरको सुनुवाइमा उच्च अदालतले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बन्द, हड्ताल, तालाबन्दी नगर्नू नगराउनू भनी आदेश जारी गरेको हो।
साहले जिल्ला प्रशासन कार्यालय सुनसरी र धरानका मेयर हर्क साम्पाङसहित ९ जनालाई विपक्षी बनाएका थिए।

मेयर साम्पाङ निर्वाचित भएयता विभिन्न काममा अराजक बन्दै आएका थिए। कानुन नमान्ने, सहमतिमा केही नगर्ने र मनपरी गर्न थालेपछि उपमेयर अईन्द्र बेघासँग पनि उनको विवाद परेको थियो।

स्वतन्त्र उम्मेदवारी दिएर धरानको मेयर जितेका उनले विभिन्न निकाय र व्यक्तिविरुद्ध मनपरी टिप्पणी पनि गर्दै आइरहेका छन्। यति मात्र होइन उनले धरान डेमा प्रमुख अतिथि बन्न समय नदिएको झोंकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलको तस्बिर कार्यकक्षबाट हटाएका थिए। 

इटहरी उपमहानगरपालिकासँग सीमा विवाद कायम राखेका साम्पाङले व्यक्तिको जग्गामा वृक्षारोपण गर्ने, मन्दिर अगाडि चर्च बनाउन अनुमति दिएर अराजक अभिव्यक्ति समेत दिँदै आइरहेका थिए।
 

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १४:२७
प्रतिक्रिया दिनुहोस्