धरानमा रमाइलो छः हर्क–अईन्द्र भनाभनको हाउभाउले भाइरल भएका भट्टराई

बिहीबार, माघ ४, २०८०

इटहरी– धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा मेयर हर्क साम्पाङ र उपमेयर अईन्द्र बेघाबीच भनाभन भएको भिडिओ सार्वजनिक भएयता १७ नम्बर वडाध्यक्ष मनोज भट्टराई चर्चामा छन्। 

सामाजिक सञ्जालमा उनले भनाभनकाबीच देखाएको हाउभाउको कार्टुन बनाएर ट्रोल गर्न थालिएको छ। वडाध्यक्ष भट्टराई एक हदसम्म भाइरल भएका छन्। 

उपमेयर बेघाले मेयर साम्पाङसँग अन्तरवार्ता शेयर गर्नुको कारण र उत्तर खोजिरहँदा भट्टराईले पान पराग गुट्खा खान्छन्। यसपछि थुक्नका लागि कार्यपालिका बैठकबाहिर जान्छन्। फर्किएर आएपछि बैठकमा सहभागी भएका अन्य कसैलाई इशाराका आभारमा दुई हातले ‘बाझाबाझ’ भइरहेको छ भन्ने संकेत गर्छन्। 

यहि कार्टुन अहिले सामाजिक सञ्जालमा भाइरल हुन थालेको छ। निलो कोट लगाएको तथा सेतो पृष्ठभूमीमा कालो छिर्के बुट्टा भएको गलबन्दी लगाएका भट्टराईलाई हाँसोका रुपमा उडाउन थालिएको छ।

viral-bhattarai-1705567569.jpg

अनुप तमुले बनाएको भट्टराईको कार्टुन सामाजिक सञ्जालबाट साभार गरिएको हो।

माओवादी केन्द्रबाट नै स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा जित निकालेका भट्टराईको यसअघि मेयर हर्क साम्पाङसँग निकै पटक भनाभन परिसकेको थियो। 

बैठकका दिन पनि मेयर साम्पाङले एजेन्डा राख्नेबेला सँगसँगै बोलेका वडाध्यक्ष भट्टराई ठेक्काको विषयमा नै कुरा गरिरहेका थिए। त्यहि ढुङ्गाको ठेक्काको विषय जसलाई नगरपालिकाले सिधा बेच्ने निर्णय मेयर साम्पाङले गरेका थिए। 

भट्टराई उनै हुन् जसलाई मेयर साम्पाङले ‘गुइँठे’ भनी नाम दिएका थिए। त्यसको उत्तरमा भट्टराईले मेयरलाई ‘धकुले’को उपमा दिए। 

यति मात्र होइन भट्टराईको घरमा उपमेयर बेघा पुगेको तस्बिर समेत सार्वजनिक गरेर अनेक प्रकारको टिप्पणी गरिएका छन्। गएको वैशाख २७ र त्यसअघिका घटनामा उपमेयर मौन बसे पनि वडाध्यक्ष भट्टराईसँग मेयर साम्पाङको विवाद पर्ने गरेको थियो। 

मेयर साम्पाङका समर्थकहरूले भट्टराईलाई वैशाख २७ गते कालोमोसो दल्ने प्रयास गरेका थिए। कार्यपालिका बैठकमा मेयरसँग निरन्तर प्रश्न गर्ने मध्यका एक भएका कारण समर्थकले कालोमोसो दल्ने प्रयास गरेका थिए। यहाँसम्मकी मेयर साम्पाङले भट्टराईलाई इंगित गरेर ‘गुइँठे’ भनी सम्बोधन गरेका थिए। 

विवादको सुरुवात २०७९ को जेठ २९ को पहिलो कार्यपालिका बैठकबाट भएको थियो। त्यो बैठकमा कार्यपालिका सदस्यहरूले उपमहानगरभित्रका खोलाबाट ढुंगा, गिट्टी, बालुवा उत्खनन् गरेर ठेक्का लगाउनुपर्ने प्रस्ताव राखे। 

२०७९ मंसिर २९ गते कार्यपालिका सदस्य र वडाध्यक्षहरूले पत्रकार सम्मेलन गरेर मेयर साम्पाङले निरंकुश शैलीमा उपमहानगर चलाउन खोजेको आरोप लगाएका थिए। जवाफमा साम्पाङले पनि पत्रकार सम्मेलन गरेर वडा अध्यक्षलाई राजीनामा दिन भन्दिए।

सोही बेलादेखि नै वडाध्यक्ष भट्टराईको साधारण चर्चा थियो। अहिले मेयर–उपमेयर विवादमा भने उनी भाइरल बनिसकेका छन्। ट्रोल भइरहेका छन्।
 

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १४:३७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार