विषय बादल

एमालेका ‘आलंकारिक’ उपाध्यक्ष

बुधबार, माघ ३, २०८०

काठमाडौं– नेकपा एमालेको मेची–महाकाली संकल्प यात्राका क्रममा अध्यक्ष केपी शर्मा ओलीसँगै तस्बिर खिचाउँदै गरेका बाहेक उपाध्यक्ष रामबहादुर थापा बादलको सक्रियता त्यति देखिँदैन। 

पार्टीको पदाधिकारी, सचिवालय र स्थायी कमिटीको बैठकमा उपस्थित भए पनि उनका राजनीतिक दस्ताबेजका चर्चा हुँदैनन्। नेकपा विभाजन गर्दै एमाले र माओवादी ब्युँतिएपछि एमालेतिर ढल्किएका बादल १०औं महाधिवेशनमा सहमतिको उपाध्यक्ष निर्वाचित भए पनि भूमिका ‘आलंकारिक’ नै रहेको पाइन्छ। 

बादलका ठाउँमा अन्य उपाध्यक्षको सक्रियता गज्जबको पाइन्छ। उपाध्यक्षका रुपमा सक्रिय थिए, सुवास नेम्वाङ। उनको निधन भइसकेको छ। संसदीय दलको उपनेता समेत रहेका नेम्वाङ राजनीतिक कार्यकलापमा सक्रिय रहन्थे। अहिले अर्का उपाध्यक्ष विष्णु पौडेल सक्रिय छन्। अध्यक्ष ओलीको विश्वास पात्रका रुपमा रहेका पौडेललाई नै विभिन्न राजनीतिक गतिविधिको अगुवाई गर्न दिइन्छ।

हुन त माओवादीमा रहँदा पनि बादलको सक्रिय भूमिका थिएन। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रभावको छायाँमा नै थिए उनी, महासचिव भए पनि। तर, उनको राजनीतिक पहिचानको उठान माओवादीबाट भएका कारण एउटा मानकचाहिँ थिए। एमालेमा त त्यो मानक पनि नभएको जस्तो अवस्थामा छन्, बादल।

‘एमाले पार्टीमा अध्यक्ष ओलीले रुचाएका मानिसका भूमिका र सक्रियता बलियो हुन्छ। ओलीले बादललाई नेकपा विभाजनपछि ‘फिलर’ नेताका रुपमा मात्र लिएका छन्’, एमाले उच्च स्रोतले भन्यो,‘एउटा स्थान दिनका लागि पदाधिकारीमा राखे पनि राजनीतिक सक्रियताको भूमिका दिएको पाइन्न।’

हुन पनि न सर्वदलीय बैठक न विभिन्न पक्षसँगका वार्तामा बादल उपस्थित हुने गरेका छन्। कुटनीतिक रुपमा हुने भेटघाटमा पनि उनको उपस्थिति अनिवार्यजस्तो हुँदैन, जहाँ पौडेललगायतको भूमिका सक्रिय देखिन्छ।

तत्कालिन माओवादीको भूमिगत राजनीतिका क्रममा बादलको भूमिका रणनीतिक, सैन्य रणनीतिकारका रुपमा रहने गरेको थियो। खुला राजनीतिमा उतिसाह्रो दख्खल नराखे पनि उनको राजनीतिक उचाई भूमिगत जीवनले नै बनाएको मान्नेहरू धेरै छन्। अहिले एमालेभित्र एकता प्रक्रियाका मानक मात्र राखिएका उनलाई कहिलेकाहीँ नैतिक संकट समेत पर्ने गर्दछ। 

‘एमाले अध्यक्षले जनयुद्ध मान्दिन, यो दिवस मनाउन आवश्यक छैन भन्छन्। नैतिक रुपमा बादललाई त्यहाँ समस्या पर्छ। किनभने उनको राजनीतिक धरातल त जनयुद्धले खडा गरेको थियो’, माओवादीका एक नेता भन्छन्,‘माओवादीले पनि उनलाई अहिले स्वीकार नगर्ने भनिसकेको छ।’

पछिल्ला पटक भने बादलको राजनीतिमा निस्क्रियताको अर्को कारण छोरा प्रतीक थापा पनि बनेका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणलगायतका विवादीत काममा प्रतीकको नाम जोडिँदा बादललाई सक्रिय राजनीतिमा अग्रसर हुन नैतिक प्रश्नले पनि अवरोध गरिरहेको बताइन्छ।
 

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  ११:१६
प्रतिक्रिया दिनुहोस्