धरानका मेयर–उपमेयर भनाभन

हर्क साम्पाङ–अईन्द्र बेघा विवादमा खलनायक बनाउन थालिएका १७ नम्बर अध्यक्ष को हुन्?

मंगलबार, माघ २, २०८०

काठमाडौं– सँधै मौन नै रहेर मेयर हर्क साम्पाङलाई सहजीकरण गर्दै आएका धरान उपमहानगरपालिकाका उपमेयर अईन्द्र बेघा कार्यपालिका बैठकमा एकाएक जंगिएपछि माहौल अर्को बन्यो। 

बेघाले मेयर साम्पाङले एउटा अन्तरवार्तामा उपमेयरले असहयोग गरेको भनी विभिन्न आक्षेपसहितको टिप्पणी गरेपछि त्यसको पुष्टि गर्न चुनौति दिएका थिए। उक्त अन्तरवार्ता मेयर स्वयम्ले पनि शेयर गरेका कारण बेघाले निक्कै अगाडिदेखि गुम्सिएर राखेका कतिपय आक्षेपका बारेमा पनि सवाल उठाए। 

यो भनाभनमा भारी तर्कचाहिँ खासै केही थिएन। तर, यो प्रकरणले निक्कै चर्चा पायो। यहि प्रकरणलाई जोडेर अहिले अर्का पात्रलाई खलनायक बनाउने काम हुन थालेको छ। भर्चुअल माध्यममा आएका कतिपय भिडिओमा उनको हाउभाउसहित त्यो विवाद गराउने व्यक्ति भनेर टिप्पणी गर्न थालिएको छ। 

खलनायक बनाउन थालिएका व्यक्ति हुन्, १७ नम्बर वडाध्यक्ष मनोज भट्टराई। 

कार्यपालिका बैठकमा मेयर साम्पाङ र उपमेयर बेघाको विवाद भएका बेला उनका केही हाउभाउ मौन बस्न दिऊँ, लडिरहेका छन् भन्ने खालका पनि देखिन्छन्। त्यसैलाई समातेर अहिले युट्युवलगायतमा दुवैबीचको विवाद गराउने मानिस भट्टराई रहेको भनी चर्चा छ।

यति मात्र होइन भट्टराईको घरमा उपमेयर बेघा पुगेको तस्बिर समेत सार्वजनिक गरेर अनेक प्रकारको टिप्पणी गरिएका छन्। तर, यथार्थमा भट्टराई आफैं पनि मेयर साम्पाङसँग विवाद परिसकेका व्यक्ति हुन्।

यसको पृष्ठभूमी केलाउँदा गएको वैशाख २७ र त्यसअघिका घटनाक्रममा घोत्लिनुपर्ने हुन्छ। 

मेयर साम्पाङका समर्थकहरूले भट्टराईलाई वैशाख २७ गते कालोमोसो दल्ने प्रयास गरेका थिए। कार्यपालिका बैठकमा मेयरसँग निरन्तर प्रश्न गर्ने मध्यका एक भएका कारण समर्थकले कालोमोसो दल्ने प्रयास गरेका थिए। यहाँसम्मकी मेयर साम्पाङले भट्टराईलाई इंगित गरेर ‘गुइँठे’ भनी सम्बोधन गरेका थिए। 

यस्तै, भट्टराई पनि के कम। उनले पनि मेयर साम्पाङको उपनाम ‘धकुले’ राखिदिएको चर्चा चलेको थियो। विवादको सुरुवात २०७९ को जेठ २९ को पहिलो कार्यपालिका बैठकबाट भएको थियो। 

त्यो बैठकमा कार्यपालिका सदस्यहरूले उपमहानगरभित्रका खोलाबाट ढुंगा, गिट्टी, बालुवा उत्खनन् गरेर ठेक्का लगाउनुपर्ने प्रस्ताव राखे। मेयर साम्पाङले असहमति मात्र जनाएनन्, उपमहानगरले नै उत्खनन गर्ने निर्णय गरिदिए।

२०७९ मंसिर २९ गते कार्यपालिका सदस्य र वडाध्यक्षहरूले पत्रकार सम्मेलन गरेर मेयर साम्पाङले निरंकुश शैलीमा उपमहानगर चलाउन खोजेको आरोप लगाएका थिए। जवाफमा साम्पाङले पनि पत्रकार सम्मेलन गरेर वडा अध्यक्षलाई राजीनामा दिन भन्दिए। त्यसको बिरोधमा भट्टराईकै नेतृत्वमा वडाध्यक्षहरूले टकराव लिन थालेका थिए। भट्टराई माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष हुन्। 

पछिल्लो पटक भने भट्टराईलगायतलाई उपमेयरको भूमिका र मेयरमाथि प्रश्न गर्ने शैली मन परेको छ। उपमेयर बेघा आक्रोशित हुने अन्तरवार्ताको कारण मात्र नभएर मेयर साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाउनु समेत रहेको थियो। उक्त कार्यले दुखी बनाएको भनी बेघाले नगरपालिकाको लेटरहेडमार्फत विज्ञप्ति जारी गरेका थिए। त्यसयता मेयर–उपमेयर सम्बन्धमा चिसो आएको छ।
 

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  ११:४२
प्रतिक्रिया दिनुहोस्