दोलखामा सुख्खा पहिरो

दोलखामा सुख्खा पहिरो खस्दा १ जनाको मृत्यु, २ गम्भीर घाइते

सोमबार, माघ १, २०८०

दोलखा– दोलखाको लामाबगरमा सुख्खा पहिरो जाँदा एक जनाको ज्यान गएको छ । अन्य दुई जना गम्भीर घाइते भएका छन् । 

दोलखाको बिगु गाउँपालिका–१ लप्ची जाने सडकमा सुख्खा पहिरो खस्दा बिगु–१ का २२ वर्षीय कुसमान तामाङको ज्यान गएको हो । 

दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलका अनुसार बिगु गाउँपालिका–१ लामाबगरबाट लप्ची जाने बाटोमा एक्कासि सुख्खा पहिरो झर्दा ढुंगाले लागेर नासा हाइड्रोमा काम गर्ने कामदार तामाङको मृत्यु भएको हो । 

त्यस्तै ढुंगाले लागेर  कामदार ५८ वर्षीय रसमान तामाङ र २८ वर्षीय दिलकुमार तामाङ गम्भीर घाइते भएको पोखरेलले जानकारी दिए । मौसमसमेत प्रतिकुल भएका कारण हेलिकोप्टर पठाउन नसक्दा घाइतेको उद्धार हुन नसकेको पोखरेलले बताए ।  

पहिरो खसेपछि लामाबगरबाट लप्ची जाने सडक अवरुद्ध भएको छ ।

त्यस्तै, आजै  धादिङको हुग्दी खोलामा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । पहिरोको कारण जाममा परेका सवारी साधनहरुलाई एकतर्फि आवागमनको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १८:२५
प्रतिक्रिया दिनुहोस्