बाँकी थिए उपप्रमुख, तिनको पनि चित्त दुखाए हर्क साम्पाङले, अल्पमतमा मेयर 

सोमबार, माघ १, २०८०

सुनसरी– धरान उपमहानगरपालिकाको कार्यपालिकामा मेयर हर्क साम्पाङ अल्पमतमा उभिएका छन्। उनको पक्षमा उभिएका उपमेयर (उपप्रमुख) अईन्द्र बेघाले समेत असहयोग गरेको भन्ने टिप्पणी मेयरले गरेपछि कार्यपालिकाका बहुमत सदस्य विपक्षमा छन्। 

‘उपमेयरले असहयोग गरेको भनेर युट्युवमा दिएको अन्तरवार्ता किन शेयर गरेको? यसको जवाफ दिनुहोस्’, बेघाले कार्यपालिका बैठकमा साम्पाङलाई आक्रोशित मुद्रामा सोधेको भिडिओ सार्वजनिक भएको छ।

मेयरमा निर्वाचित भएपछि श्रमदानका कारण चर्चामा आएका साम्पाङ विभिन्न उदण्ड कार्यकलापका कारण आफ्नै टिममा अलोकप्रिय बनिरहेका छन्। उनको टकराव विभिन्न वडाका अध्यक्ष र सदस्यसँग यसअघि नै पर्दा भनेका थिए,‘सबैले राजीनामा दिनू।’

साम्पाङका विभिन्न गतिविधिले सीमा नाघिरहँदा पनि उपमेयर बेघाले सहयोग गरिरहेका थिए । यति मात्र होइन साम्पाङलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गराउने, विभिन्न आयोजनाको प्रस्ताव राख्नको लागि समन्वय गराउने काममा उपमेयर बेघाको भूमिका बलियो रहेको थियो। 

बेघा माओवादी केन्द्रबाट लोकप्रिय मत ल्याएर उपमेयरमा निर्वाचित भएका थिए। धरानमा उनको राजनीतिक लोकप्रियता पनि बलियो रहेको छ। ‘यसरी आक्रामक नहुने उपमेयरको चित्त दुखाएकै कारण कार्यपालिका बैठकमा यसरी जंगिनुभयो, यस्तो त हामीले कहिल्यै पनि देखेका थिएनौं’, बैठकमा सहभागी एक वडाध्यक्षले क्यानडानेपालसँग भने,‘मेयर सच्चिन आवश्यक छ।’

धरान डेका अवसरमा प्रमुख अतिथिमा प्रधानमन्त्री प्रचण्डले समय दिन नसक्ने स्थिति भएपछि साम्पाङले कार्यकक्षबाट राष्ट्रपतिसहितको तस्बिर हटाएपछि उपमेयर बेघा केही असन्तुष्ट रहेका थिए। तैपनि उनले कडा शव्दमा त्यसको आलोचना गरेका थिएनन्। 

तर, राजनीतिक मात्र नभई व्यक्तिगत रुपमा पनि साम्पाङले उपमेयरले असहयोग गरेकोलगायतका टिप्पणी गरेपछि भने बेघाले पनि धैर्यताको बाँध फुटाएको ति वडाध्यक्ष बताउँछन्। 

‘उपप्रमुख भनेको कार्यबाहक प्रमुख पनि हो। न्यायीक समितिको प्रमुख पनि हो। बजेट समितिको प्रमुख पनि हो। यसरी चिढ्याउने खेल भयो भने प्रमुख कसरी सफल बन्न सक्छन्’, ति वडाध्यक्षको प्रश्न छ,‘धरान उपमहानगरपालिकाको कार्यपालिकामा अब समस्या झन बलियो देखिन थालेको छ।’

बेघाले मेयर साम्पाङको निजी निर्णयमा पनि सहयोग गर्दै आएका थिए। धरानमा विमानस्थल बनाउने विषयको डेलिगेशनका लागि प्रधानमन्त्रीदेखि पर्यटनमन्त्रीसम्मको समय बेघाले मिलाएका थिए। अघिल्लो बर्ष अर्थमन्त्री रहेका जनार्दन शर्मालाई भेटाएर साम्पाङको चाहनाअनुसार बजेटका विषयमा पनि धरानलाई सफल बनाउन बेघाकै सहयोग रहेको थियो।

पछिल्लो पटक राजनीतिक दल खोल्ने साम्पाङको घोषणा पनि अब फितलो हुन थालेको धरानवासीले टिप्पणी गर्न थालेका छन्। उनीहरू भन्छन्,‘एउटा कार्यपालिका बैठक राम्रोसँग चलाउन नसक्ने, सबैप्रति नकारात्मक भावना राख्ने प्रमुखले दल खोलेर चलाउँछन् भन्ने विश्वास कसरी गर्नु?’
 

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  ११:११
प्रतिक्रिया दिनुहोस्