भाेलीदेखि राष्ट्रिय सभा निर्वाचन आचारसंहिता लागू हुने, के-के गर्न पाइन्न ?

सोमबार, माघ १, २०८०

काठमाडौं  - निर्वाचन आयोगले माघ २ गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ । आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार माघ २ गतेदेखि आचारसंहिता लागू हुने बताए । राष्ट्रिय सभाको निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू गर्न लागिएको हो ।

राष्ट्रिय सभाको १९ सिटका माघ ११ गते चुनाव हुँदैछ । जसका लागि आठ दलबाट ५२ जनाले उम्मेदवारी दिएका छन् ।

आयोगले निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, दफा ५ को खण्ड (क), खण्ड (क १) र खण्ड (छ), दफा ९, दफा १४, दफा १६, दफा १७, दफा १८, दफा २१ र दफा २२ को व्यवस्था लागू गर्न लागेको हो ।

निर्वाचनको ४८ घण्टा अगाडि मौन अवधि सुरु हुने पनि आयोगले जनाएको छ। आयोगका अनुसार माघ ८ गते मध्यराति १२ बजेदेखि उक्त मौन अवधि सुरु हुन्छ। त्यस अवधिमा निर्वाचनको प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी गर्न पाइन्न ।

मतदान स्थलको दुई सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने, कुनै पनि विधि प्रक्रिया वा माध्यमबाट मत माग्न र प्रचार गर्न नहुने भनिएको छ । निर्वाचन आचारसंहिताले कुनै पनि सार्वजनिक स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष विपक्षमा प्रयोग गर्न वा गराउन नपाइने उल्लेख गरेको छ। आयोगले निर्वाचनका लागि सार्वजनिक संस्था, विद्यालय, विश्वविद्यालयलगायत क्षेत्रमा पनि प्रचारप्रसार तथा भेला नगर्न निर्देशन दिएको छ ।

त्यसैगरी ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय र अपाङ्गता भएका व्यक्तिको भावनामा आँच आउने वा चरित्र हत्या हुने गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन तथा बालबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न वा गराउन नहुने पनि आयोग प्रवक्ता पौडेलले बताए ।

आचारसंहिताअनुसार प्रचलित कानून बमोजिम निषेध गरिएको समय र स्थानमा अवरोध हुने गरी कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन नहुने भनिएको छ ।

सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन, निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण (हेट स्पिच) गर्ने जस्ता भ्रामक टीकाटिप्पणी गर्न वा गराउन नहुने व्यवस्था छ ।

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १०:५४
प्रतिक्रिया दिनुहोस्