धरान उपमहानगर

धरानका मेयर र उपमेयरबीच भनाभनः ‘जसले १८ महिना बोक्यो, उसैको टाउकोमा दिसा पिसाब !’

आइतबार, पुस २९, २०८०

इटहरी– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र उपमेयर अईन्द्र बेघाबीचको विवाद सतहमा आएको छ। सँधै मेयरलाई साथ दिएका उपमेयर यस पटक भने विभिन्न हत्कण्डाका कारण आक्रोशित बनेका छन्। 

भर्चुअल माध्यममा नै धेरै रमाउने मेयर हर्क साम्पाङका लागि सामाजिक सञ्जालमा शेयर गरेको भिडिओका कारण नै उपमेयर अईन्द्र बेघाले प्रश्न गरेका छन्। अब धरानको कार्यपालिकाको स्थिति भने मेयर साम्पाङको हातमा भन्दा फरक हुने पनि अनुमान गरिएको छ।

मेयर साम्पाङले शेयर गरेको भिडिओमा उपमेयर बेघाको मन पहिलेदेखि नै विषालु भनेको अन्तरवार्ता दिइएको छ। यस विषयले उपमेयर बेघाको चित्त दुखेछ। ‘प्रधानमन्त्रीदेखि तत्कालिन अर्थमन्त्रीलगायत सबैलाई भेटाउनका लागि भूमिका खेलेका र सहयोगी उपमेयरमाथि नै जाई लागेका रहेछन्’, कार्यपालिकाका एक सदस्य भन्छन्,‘अनि यस्तो विषयमा प्रश्न सोध्न नपाइने भन्ने हुन्छ?’

त्यसो त उपमेयर बेघा मेयरले कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको तस्बिर हटाएको विषयमा नै सन्तुष्ट थिएनन्। तर, त्यसबारे कडा प्रतिवाद नगरेका उनले कार्यपालिका बैठकमा झोंक्किने अन्य कारणहरू पनि समाते। 

‘मैले असहयोग गरेको भन्ने आरोप पुष्टि गर्नुहोस् । मैले कहाँ असहयोग गरेको थिएँ र छु’, बेघाले मेयरलाई कडा शव्दमा भने, ‘तपाईलाई १८ महिनासम्म टाउकोमा बोकेर हिँडे, अहिले मेरै टाउकोमा दिसा पिसाब गर्ने?’

उनले आफू पनि जनताको म्याण्डेड पाएर आएको बताउँदै उनले सोधे, ‘मलाई उपमेयर तपाईले बनाएको हो? कानुन बाहिरको तपाईको आदेश मान्दिनँ।’

मेयर साम्पाङलाई उच्च स्तरीय राजनीतिक भेटमा उपमेयर बेघाको नै साथ रहँदै आएको थियो। यहाँसम्मकी बेघाका कारण नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मेयर साम्पाङको श्रमशिविरमा सहभागी हुन समेत पुगेका थिए। तर, अहिले स्थिति फरक बनिसकेको वडाध्यक्षहरू बताउँछन्। 
 

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १५:१८
प्रतिक्रिया दिनुहोस्