लिटिल बुद्ध : विवादीत धर्मगुरु

विवादीत धर्मगुरुका नयाँ संस्करण बमजनः किसानका छोरामाथि कति अभियोगमा छानबिन हुँदैछ?

शनिबार, पुस २८, २०८०

काठमाडौं– सामान्य किसान परिवारमा जन्मिएर लिटिल बुद्धका नाममा देश विदेशमा परिचय स्थापित गरेका यौन शोषणसहित विभिन्न आरोप लागेका रामबहादुर उर्फ रामलाल बमजनामाथि चार अभियोगमा अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ। 

लामो खोजीपछि यसै साता पक्राउ गरी सर्लाही अदालत हुँदै महोत्तरीको जेलमा पूर्पपक्षका लागि थुनामा पठाइएका बमजनमाथि हत्या, मानिस बेपत्ता, अवैध नेपाली र विदेशी मुद्रा संचित गर्नुको स्रोत खोजीलगायतका विषयमा अनुसन्धान जारी राखिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ। 

मध्यतराईको बाराको एउटा एकान्त वनमा ठूलो पीपलको बोटमुनि ध्यान गरिरहेका कलिला रामबहादुर बमजन एकाएक २००५ मा चर्चामा आएका थिए। सोही चर्चापछि ख्याती कमाएका बमजन अपराधको बाटोमा लागेको प्रहरीको प्रारम्भिक बुझाई छ । 

१९ बर्षमा बमजनले अकुत सम्पत्ति थुपारिसकेका थिए भने महँगा र बिलासी जीवन बिताउनेगरी गाडीहरू प्रयोग गर्दै आएको पक्राउपछि खुलेको थियो ।

पाँच वर्षअघि सिन्धुपाल्चोकस्थित उनको आश्रममा गएका केही ‘अनुयायी’ त्यहाँबाट नफर्किएका भन्ने विवरणसहित विभिन्न जिल्ला प्रहरी कार्यालयमा परेका उजुरीमा प्रहरीले छानबिन थालेको थियो ।

त्योसँगै सिन्धुपाल्चोकको बाँडेगाउँस्थित आश्रम सिलबन्दी गरेर अनुसन्धान थालिएको थियो । विसं २०७१ साल चैत १४ गतेदेखि सम्पर्कविहीन एक व्यक्तिको परिवारले किटानी जाहेरी दिएपछि प्रहरीले बमजनको आश्रममा अनुसन्धान थालेको थियो ।

२०७६ सालदेखि भने बमजन फरार सूचीमा थिए । ‘प्रहरीको लामो खोजी र भगौडा रहेका कारण सीआईबीले उनलाई पक्राउ गरी सम्बन्धित अदालतमा पठाएको हो’, एक अधिकारी भन्छन्,‘पक्राउका बेला फेला पारिएका मुद्रालगायतको विषयमा अलग छानबिन हुनेछ ।’

नेपाल र भारतका कतिपय विवादीत धर्मगुरुको संस्करणका रुपमा बमजनको नयाँ उदय भएको पनि मानिन्छ । हालसालै मात्र बलात्कार अभियोगमा जगतगुरुको पगरी समेत पाएका कृष्णदासमाथि अभियोग लागेको थियो । तर जिल्ला अदालत सुनसरीले उनलाई सफाई दियो, जुन अझै पनि विवादीत छ। 

भारतका आशाराम बापुदेखिका विवादीत धर्म गुरुहरू अहिले पनि यस्तै यस्तै अभियोगमा जेलमा छन् । अनुयायीमाथि यौन दुराचारको आरोप उनीहरूलाई लाग्ने गरेको छ ।

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  १२:०४
प्रतिक्रिया दिनुहोस्