झापामा सहकारीको ७० अर्बभन्दा बढी पुँजी परिचालन

बिहीबार, पुस २६, २०८०

बनियानी– झापामा सहकारीमार्फत रु ७० अर्बभन्दा बढी पुँजी परिचालन भएको छ ।

झापा जिल्ला सहकारी सङ्घका अध्यक्ष गणेश ढकालका अनुसार जिल्लाको ४५ प्रतिशत जनसङ्ख्या सहकारी अभियानसित जोडिएको छ । “सहकारीमार्फत परिचालित पुँजीले यहाँका विपन्न वर्गमा वित्तीय पहुँच स्थापित भएको छ”, उनले भने, “यसले स्वरोजगार सिर्जनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ ।” 

सहकारीमार्फत परिचालित पुँजी कृषि, उद्योग, व्यापार, यातायात, शिक्षा, स्वास्थ्य, पशुपालन, दूध उत्पादन, वैकल्पिक ऊर्जालगायतका क्षेत्रमा लगानी भएको अध्यक्ष ढकालले बताए । पछिल्लो समयमा झापाका सहकारीमा ऋण असुलीमा समस्या देखिएको छ । सहकारीबाट लिएको ऋण तिर्न आनाकानी गर्दा सहकारी संस्थाको ऋण असुलीमा समस्या देखिएको हो । 

अध्यक्ष ढकालले भने, “ऋण तिर्न प्रेरित गर्न राष्ट्रिय अभियान नै चलाउनुपर्ने देखिन्छ, यसमा राज्यको सहयोग अपरिहार्य छ ।” झापामा आठ सय दुई सहकारी दर्ता भएकामा ५८ वटा खारेज भएका छन् । “स्थानीय तहले सहकारीको नियमन गर्न थालेयता र मर्ज हुने क्रम बढेसँगै सहकारीको सङ्ख्या घटबढ भइरहेको छ”, सङ्घका सचिव भवानीप्रसाद दङ्गालले भने ।

झापा जिल्ला सहकारी सङ्घमा चार सय ९२ सहकारी संस्था आबद्ध छन् । यसमा बहुउद्देश्यीय ७४, बचत तथा ऋण एक सय ९३, कृषि सहकारी एक सय ९३, दुग्ध र सुपारी ६÷६, चिया र उपभोक्ता चार–चार, विविध आठ र सङ्घ चार आबद्ध रहेको सचिव दङ्गालले बताए । झापाका सहकारीमा पाँच हजारभन्दा बढी व्यक्तिले प्रत्यक्षरुपमा रोजगारी पाएका छन् ।

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १९:०३
प्रतिक्रिया दिनुहोस्