अप्रेशन ब्लु अर्थात् विवादीत तपस्वी पक्राउ 

यी हुन् रामलाल बमजनको आश्रमबाट बेपत्ता चार, कहाँ गायब पारिए उनीहरू?

बिहीबार, पुस २६, २०८०

काठमाडौं– बाल तपस्वीका रुपमा उदय हुँदै अपराधको संगीन अनुसन्धानमा पक्राउ गरी जिल्ला अदालत सर्लाहीसम्म पुराइएका रामबहादुर भनिने रामलाल बमजनको आश्रमबाट बेपत्ता गरिएका चार जनाबारे प्रहरीले खोजी कार्य जारी राखेको छ। 

बलात्कार अभियोगमा समेत फरार रहेका बमजनलाई सर्लाही अदालतले पक्राउ पूर्जी जारी गरेको थियो। उनको बयान अदालतमा भएको छ। योसँगै उनीमाथि चार जना बेपत्ता पारेको अभियोगमा पनि अनुसन्धान हुने प्रहरीले जनाएको छ। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बमजनलाई काठमाडौंबाट पक्राउ गरेको थियो। प्रहरी नायव उपरिक्षक (डीएसपी) धर्म भण्डारीको टोलीले ‘अप्रेशन ब्लु’ चलाएर बमजनलाई नियन्त्रणमा लिन सफल भयो। 

सीआईबीले बमजनले बेपत्ता बनाएकाहरूबारे पनि केही जानकारी दिएको थियो, पत्रकार सम्मेलनमार्फत।

bepatta-1704959430.jpg

बमजनको आश्रमबाट सर्लाहीकी रीता बोट, नुवाकोटकी चिनीमाया (कर्मा) वाइबा, मकवानपुरका फूलमाया रूम्बा र सन्चलाल रूम्बा बेपत्ता भएका थिए। बेपत्ता भएकाका परिवारले प्रहरीमा उजुरी दिएका कारण सो अभियोगमा पनि अनुसन्धान हुने उच्च अधिकारी बताउँछन्।

२०६२ सालमा बाराको रतनपुरी जंगलमा रहस्यमयी तपस्वीका रुपमा बमजनको उदय भएको थियो।  

रौतहटकी एक जना महिलाले पत्रकार सम्मेलनमार्फत आफूमाथि बलात्कारको आरोप लगाएकी थिइन्। उनले चार वर्षसम्म बमजनको आश्रममा रहँदा आफूमाथि बलात्कार भएको र आश्रमभित्र थुप्रै आनीमाथि यौन शोषण र दुव्र्यवहार हुने गरेको दाबी गरेकी थिइन्। 

बम्जन ‘लिटिल बुद्ध’ बनेपछि उनको साम्राज्य रतनपुरी हुँदै सर्लाही, सिन्धुली र सिन्धुपाल्चोकसम्म फैलियो। उनका हजारौँ अनुयायी बढे। अथाह रूपैयाँ दान आयो। उनी एक आश्रमबाट अर्को आश्रम जाँदा पनि नियमित हेलिकप्टर चढ्ने हैसियत राख्नेसम्म भएका थिए।

प्रहरी अनुसन्धानका क्रममा नेपाली तीन करोड ५ लाख नगदसहित विदेशी ३० लाख बढीका नगद मुद्रा जफत गरिएको थियो। यति मात्र नभएर सीआईबी अनुसन्धानका क्रममा उनले ५ करोडको गाडी खरिदका निम्ति तीन करोड बुझाइसकेको तथा १४ वटा मोबाइल, ५ आईप्याड, दुई ल्यापटपसहितका सामान जफत गरिएको थियो। 

उनले उक्त परिमाणको रकम कसरी संकलन गरेर लुकाएका थिए भन्ने विषयमा पनि खोजी सुरु भएको छ। ‘प्रहरीले बेपत्ताको खोजी पनि जारी राखेको छ, अन्य पाटोमा पनि अनुसन्धान जारी छन्’, एक उच्च अधिकारी भन्छन्,‘अदालतले म्याद थप गरेर अनुसन्धानका लागि समयसीमा तोक्यो भने अनेक पाटाबाट छानबिन हुनेछ।’
 

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १३:३७
प्रतिक्रिया दिनुहोस्