Nic Ad Nic Ad
Nic Ad Nic Ad
नागरिक उन्मुक्ति पार्टी महाधिवेशन 

पत्नीलाई हटाएर अध्यक्षमा सर्वसम्मत बन्दैछन् त रेशमलाल चौधरी ?

बिहीबार, पुस २६, २०८०

काठमाडौं– गत निर्वाचनमा राष्ट्रिय दलको मान्यता पाउनेगरी मत पाएको नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशन शुक्रबारदेखि कैलालीको धनगढीमा तीन दिनसम्म हुने भएको छ। 

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशनको उद्घाटन गर्नेगरी तयारी भएको संरक्षक रेशमलाल चौधरीले बताएका छन्। चौधरी उक्त पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठका पति समेत हुन्। 

यो महाधिवेशनमा उनले अध्यक्षको जिम्मेवारीबाट पत्नीलाई हटाएर आफैं त्यहाँ उभिने तयारी गरेको उच्च स्रोतले जनाएको छ। यसो गर्दा चौधरी सक्रिय राजनीति र जिम्मेवारीमा फर्किन सक्छन्। दलको संरक्षकको मात्र जिम्मेवारीमा रहेका उनी भाइटल रोलमा फर्किन लागेका हुन्। टिकापुर घटनाको मुख्य योजनाकार र दोषीका रुपमा चौधरी जेलमा रहेका बेला पार्टी गठन भएको थियो। त्यसबेला उनी अध्यक्षको जिम्मेवारीमा बस्न नमिल्ने भएकाले पत्नी श्रेष्ठलाई उभ्याइएको थियो। 

चौधरीको अध्यक्ष बन्ने चाहनामा पार्टी कार्यकर्ता प्रतिनिधि अथवा प्रतिस्पर्धी बाधक नभएर कानुनी जटिलता देखिने सम्भावना पनि रहेको छ। त्यसबेला पत्नी श्रेष्ठलाई नै सर्वसम्मत बनाएर चौधरी संरक्षकको भूमिकामा मात्र पनि हुने सम्भावना रहेको छ। यद्यपि, उनी सक्रिय भूमिकामा उत्रिन चहान्छन्। 

अध्यक्ष बन्नका लागि चौधरीलाई कानुनी सजायले के कस्तो समस्या पार्छ भन्ने विषयमा पनि कानुन व्यावसायीसँग परामर्श भइसकेको छ। राजनीतिक मुद्दामा जेल परेको भन्ने तर्कका आधारमा चौधरी सर्वसम्मत अध्यक्ष चयन हुने दाउमा छन्। तर, उनको यो मनसाय वा तयारी पूरा होला या नहोला भन्नेचाहिँ कानुनी पाटोले मात्र टुंगो लगाउनेछ। उनलाई अदालतले व्यक्ति हत्याको आरोपमा सजाय दिएको तर राष्ट्रपतिबाट आममाफी पाएर छुटेका कारण ‘व्याख्या’ कसरी हुन्छ भन्नेमा भर पर्ने निश्चितप्रायः छ।

महाधिवेशनमा ५२ जिल्लाका ८ हजार प्रतिनिधि आउने दाबी गरिएको थियो। योसँगै उद्घाटन सत्रमा प्रधानमन्त्रीसहित नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, जसपालगायतका पार्टीका शीर्ष नेतालाई निम्तो दिइएको चौधरीले बताएका थिए। 

यसैगरी भारतीय जनता पार्टीका नेतालाई पनि निम्तो गरिएको बताइएको थियो। चौधरी मस्ट वान्टेड रहेका बेला भारतमा भारतीय जनता पार्टीका नेताको सहयोगमा लुकेका थिए। सोही बेला प्रधानमन्त्रीका रुपमा प्रचण्डको भ्रमण हुँदा चौधरीसँग भेट भएको विषयले तरङ्ग ल्याएको थियो। 

यद्यपि, उनी नेपाल फर्किएर अदालतमा आत्मसमर्पण गरी सजाय काट्न तयार भए। जेलमा रहेका बेला नै उनलाई प्रतिनिधि सभा सदस्यको सपथ गराइएको थियो। त्यो पनि विवादीत बन्यो। तर, गत निर्वाचनमा उनले उम्मेदवारी दिन नपाए पनि कैलालीका तीन र बर्दियाको एउटा गरी चार वटा क्षेत्रमा राम्रो नतिजासहित समानुपातिक मत ल्याउन पार्टी सफल भयो। 
 

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  ११:३१
प्रतिक्रिया दिनुहोस्