विचार

सन्दीप लामिछाने प्रकरणमा यस्ता छन् लेखिकाहरूको टिप्पणी

बिहीबार, पुस २६, २०८०

काठमाडौं– ‘गौशाला २६’ नामकी बलात्कारमा कसुर ठहर गर्दै नेपाली राष्ट्रिय क्रिकेटका पूर्वकप्तान तथा खेलाडी सन्दीप लामिछानेलाई जिल्ला अदालतले ८ बर्ष कैद गरेपछि सामाजिक सञ्जालमा विभिन्न प्रकारका टिप्पणी भइरहेका छन्। 

कतिपयले ति नाबालिग भनिएकी किशोरीलाई दोष दिएर नानाथरी लेखिरहेका छन् भने कतिपय लेखिकाहरूले भने यसको मिहिन विषयलाई कोट्याएर टिप्पणी गरेका छन्। 

यस मध्य लेखिका शारदा शर्माले पनि टिप्पणी गरेकी छन्। उनले लेखेकी छन्– 

सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा जिल्ला अदालतले ८ वर्ष कैदको सजाय सुनाएपछि फेरि एकपल्ट तरङ्ग आएको छ। 

कानूनी कुरा आफ्नो ठाउँमा छ, सन्दीप चुकेकै देखिन्छ। तर आफ्ना कारणले एउटी छोरी मान्छेको जीवन बर्बाद भइरहेको कुरामा हदैसम्मको अमानवीयता, असंवेदनशीलता र छलकपट; सन्दीप लामिछानेको सबैभन्दा ठूलो गल्ती थियो। 

यो घटना बाहिर आएयता गौशाला २६ ले गुजारिरहेको भयावह जिन्दगीप्रति हामी धेरैजसो पनि सारै असंवेदनशील बन्यौं। त्यतिमात्र नभई सन्दीप लामिछानेलाई यति धेरै हौसला दियौं, वाहवाही गर्यौं, त्यसले शायद उसलाई गलत बाटो समाइरहन थप प्रेरणा पनि भयो होला। गलत कामका निम्ति कसैलाई सचेत गराउनुसाटो उक्साइरहने हामी कतिपयको यो व्यवहारलाई दुरुत्साहन भन्न सकिन्न? यस निम्ति हामीलाई सजाय कसले दिने?

हाम्रो समाजमा एउटै कर्म गरेबापत छोरा र छोरीको जीवन कति फरक किसिमले प्रभावित हुन्छ, यसै घटनाले छर्लङ्ग पारेको छ। हामी धेरैले सन्दीपलाई वाहवाही गर्दा गौशालालाई निरन्तर नरकतिर धकेलिरह्यौं र त्यसमा रत्तिभर दुःख मानेनौं, पश्चाताप गरेनौं।

मुलुकको एउटा प्रतिभाशाली युवक आफ्नो उर्जाशील उमेरमा यति लामो समय जेल जाने कुरा खुशी हुनुपर्ने कुरा पटक्कै हैन। यस्तो नहोस् भविष्यमा भनेर सचेत रहौं। 

छोराहरूलाई जिम्मेवार बनाएर हुर्काउनेतर्फ विचार गरौं अब। हाम्रा छोराछोरी जोसुकै दण्डित हुँदा पनि चोट लाग्ने हामीलाई नै हो। तर सन्दीपलाई सजायँ हुँदा पीडित हुने हामी कतिपयको चेतना गौशालाको चोटमा किन दुख्तैन? प्रश्न यति मात्रै हो।  

भविष्यमा, यो मुलुकका कुनै पनि छोराहरूलाई कुनै पनि छोरीमाथि यौन दुर्व्यवहार र अपराध गर्न अघि सर्दा यो नजीरले केही न केही झस्काउला नै।

यहि क्रममा पत्रकारिता गरेकी तथा लेखनमा सक्रिय रहेकी अञ्जली सुवेदीको टिप्पणी पनि आएको छ। उनी लेख्छिन्– 

सन्दीप, पलहरूलाई समाजले दिनुपर्ने सन्देश– सबैको इज्जत गर्न सिक, शुद्ध आचरण बनाऊ, गल्ती/अपराध भए महसुस/प्रायश्चित गर! तर खै के खै के भन्नतिर लागीराछ!

समाज कैले ब्युँझिने होला! 

अरूलाई क्यै नठान्नु, हल्का लिनु, भावनासँग खेल्नु नै त रेप हो! यसको हिसाबकिताब त हुन्छ नै। भावनाको कदर गर्दै प्रेमपूर्वक राखिएको पारस्परिक सम्बन्ध त अद्भुत, सुन्दर, प्रशन्न चित्त हुन्छ नि! यस्तो सम्बन्ध अदालत पुग्दै पुग्दैन! चित्त दुखाई, मनमा चोट हुँदै हुँदैन! 

मान्छेले मान्छेको इज्जत गर्न सिकौं, स्पष्ट हौऔं, बोली व्यवहार सफा भए कोई कसैसँग अनावश्यक फस्दैन, नो लफडा।

यता, सन्दीप लामिछानेले पनि क्रिकेट एशोसिएशन अफ नेपाल (क्यान)लाई पत्र लेखेर आफूले सफाई नपाएसम्म कुनै खेलमा सहभागी नहुने पत्र लेखेका विवरण आएका छन्। 
 

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  ११:०१
प्रतिक्रिया दिनुहोस्