रामबहादुर बमजन पक्राउ

बम्जनको आश्रमबाट कुन कुन मितिमा को–को छन् गायब ?

बुधबार, पुस २५, २०८०

काठमाडौं- आफूलाई ‘लिटिल बुद्ध’ भनेर चिनाउने रामबहादुर बम्जनलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । मंगलबार राति केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले बम्जनलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

बम्जनमाथि बालिका बलात्कारसहित विभिन्न आरोप रहेको छ । लामो समयदेखि प्रहरीको खोजि सूचीमा रहेका बम्जनलाई ब्यूरोको मंगलबार साँझ उनको निवास हात्तिगौँडाबाट पक्राउ गरेको हो ।

विभिन्न जिल्लामा उनको आश्रमबाट मान्छेहरु गायब भएको भन्दै खोजीको मागसहित परेको उजुरीका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । उनको विभिन्न आश्रमबाट ४ जना हराइरहेको भन्दै उजुरी परेको छ ।

बुधबार दिउँसो ब्यूरोले पत्रकार सम्मेलन गर्दै दिएको जानकारी अनुसार चुम्बा भनिने २९ वर्षीया चिनिमाया तामाङ, डोलो भनिने ३० वर्षीया फुलमाया रुम्बा, ५१ वर्षीय सन्तलाल वाइबा र ३४ वर्षीय सरोजकुमार आले हराइरहेका छन् । चिनिमाया बम्जनको आश्रम सिन्धुपाल्चोकको बाँडेगाउँबाट ०६९ सालबाट हराइरहेको प्रहरीमा उजुरी परेको छ । त्यस्तै सिन्धुुपाल्चोककै बाँडेगाउँबाट सन्तलाल २०७१ साल चैत १४ गतेबाट हराइरहेको प्रहरीमा उजुरी रहेको छ । त्यसैगरी ०७१ साल माघमा बाँडेगाउँबाटै अर्की फुलमाया गायब भएकी थिइन् भने सरोजकुमार आले ०७२ सालमा निजगढबाट गायब भएको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

पक्राउ परेका बम्जनको साथबाट ठूलो परिणाममा नेपाली र विदेशी मुद्रा समेत बरामद गरिएको छ । विभिन्न सञ्चारका साधनसाथै महंगा गाडी र ४ थान मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

उनलाई आजै सर्लाही पठाउने तयारी गरिएको छ ।

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १६:२७
प्रतिक्रिया दिनुहोस्