काेराेना भाइरस संक्रमण

नेपालमा पहिलोपटक कोभिडको सब–भेरियन्ट संक्रमण पुष्टि

सोमबार, पुस २३, २०८०

काठमाडौँ– नेपालमा पहिलोपटक कोभिड–१९ को ओमिक्रोनको सब–भेरियन्ट जे एन. १ संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जारी गरेको विज्ञप्ति अनुसार आइतबार गरेको पछिल्लो जिनोम सिक्वेन्सिङ प्रविधिबाट ७ वटा नमुनामा  नेपालमा पहिलोपटक सब भेरियन्ट जे एन.१ संक्रमण पुष्टि भएको हो ।

‘देशका विभिन्न भागहरुबाट विभिन्न उमेर समूहका संकलित १६ वटा पीसीआर तथा एन्टिजेन पोजेटिभ नमूनाहरुको राष्ट्रिय प्रयोगशालाले आइतबार गरेको पछिल्लो जिनोम सिक्वेन्सिङ प्रविधिबाट ७ वटा नमुनामा सब भेरियन्ट पुष्टि भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीमा कोरोना सङ्क्रमण देखिन थालेपछि नेपाल–भारत सीमा नाकामा कोरोना परीक्षण अनीवार्य गरिएको छ । भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल–भारत सीमा नाकामा कोरोना परीक्षण अनीवार्य गरिएको हो ।

मन्त्रालयले यसको संक्रमणबाट बच्न स्वास्थ्य मापदण्ड नियमित अपनाउन समेत आग्रह पनि गरेको छ ।

omicron-jn1-first-time-in-nepal-1704723491.jpg

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  २०:०३
प्रतिक्रिया दिनुहोस्