राष्ट्रिय सभा उम्मेदवार छनौट

देउवाको स्वेच्छाचारिताविरुद्ध केसीद्वयको पनि फरक मत, यस्ता छन् ५ बुँदा 

सोमबार, पुस २३, २०८०

काठमाडौं– राष्ट्रिय सभाको आगामी माघ ११ गते हुने निर्वाचनमा उम्मेदवार छनौटमा असन्तुष्ट रहेका नेपाली काँग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले फरक मत राखेका थिए ।

सोही कित्तामा अन्य दुई नेता पनि उभिएका छन् । नेताद्वय अर्जुननरसिंह केसी र बलबहादुर केसीले पनि ५ बुँदे फरक मत राखेका हुन् ।

कांग्रेस केन्द्रीय कार्यालयमा यसरी फरक मत दर्ज गरिएको हो ।

यस्तो छ फरक मत 

१.राष्ट्रियसभा सदस्यको निर्वाचनमा उम्मेदवार तय गर्नेबारे पौष १४, २०८० को कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय, “प्रदेश कार्यसमितिको सिफारिस भई आएका नामहरूमध्ये भौगोलिक तथा जातीय सन्तुलन समेतलाई ध्यान दिई पार्टीमा योगदान गरेका, संसदीय क्षेत्रमा योगदान पुर्याउन सक्ने क्षमता भएका, पार्टीप्रति प्रतिबद्ध, स्वच्छ छवि भएका, हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वञ्चित भएका, योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिने...” भन्ने व्यवस्थालाई ठाडो उल्लङ्घन र पार्टीको संस्थागत निर्णयप्रति अविश्वनीयता खडा गरेको छ ।

२. संसदीय बोर्डले विधानअनुसार आजसम्म पूर्णता पाएको छैन जुन उम्मेदवार छनोटको अनिवार्य वैधानिक शर्त हो । यसबाट प्रक्रियागत गम्भीर त्रुटी र स्वेच्छाचारिता स्पष्ट देखिएको छ ।

३. समग्र मधेस प्रदेशबाट मधेसी समुदायबाट प्रतिनिधित्व हुन पाएको छैन । विज्ञ, बौद्धिक, व्यावसायिक र पेशागत वर्गलाई पूर्ण रुपमा उपेक्षा गरिएको छ ।

४. समावेशिताको संवैधानिक सिद्धान्तलाई उल्लंघन गरिएको छ ।

५. समग्रतामा उम्मेदवार चयनमा देखिएको एकाधिपत्य र चरम एकपक्षीय कार्यशैली पार्टी र आम भावनाविपरीत भएकोले राष्ट्रियसभा उम्मेदवार चयनको हालैको निर्णयमा असहमत भएकोले यो फरक मत प्रस्तुत गरेका छौँ ।

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १५:३१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार