गठबन्धनसँग भएको सहमतिबमोजिम नै अघि बढ्ने एकीकृत समाजवादीको निर्णय

आइतबार, पुस २२, २०८०

काठमाडौँ - राष्ट्रिय सभाको सिटमा सत्ता गठबन्धनबीच भएको भागबण्डामा असन्तुष्टि जनाएको नेकपा एकीकृत समाजवादी पार्टीले अन्ततः दुई सिटमै चित्त बुझाउने भएको छ।

गठबन्धनले दिएको २ सिटमा असन्तुष्टि रहेको भन्दै अध्यक्ष माधव नेपालले सचिवालय बैठक बोलाएका थिए। पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार पार्टी मुख्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले गठबन्धन दलहरूसँग भएको सहमतिबमोजिम नै अघि बढ्ने निर्णय गरेको हो।

दुई सिट मात्रै पाउने भएपछि आइतबार बिहान प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको गठबन्धन बैठक बीचमै छाडेर अध्यक्ष माधव नेपाल निस्केका थिए।

राष्ट्रिय सभाको १९ सिटमा काँग्रेसलाई १०, माओवादीलाई ६, नेकपा एसलाई २ र जसपालाई १ सिट दिने सहमति बनेको काँग्रेस नेता रमेश लेखकले दाबी गरेका छन्। आउँदो माघ ११ गते रिक्त हुने १९ सिटका लागि राष्ट्रियसभाको निर्वाचन हुँदै छ।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १६:२८
प्रतिक्रिया दिनुहोस्