बरहथवा घटना : दुई दिनसम्म घटनास्थलमै मृतक साहकाे शव

आइतबार, पुस २२, २०८०

सर्लाही- बरहथवा नगरपालिका– ६ मा निर्माण भएको १५ शय्याको नगर अस्पताल सञ्चालनका विषयमा शुक्रबार दिउँसो भएको आन्दोलनमा प्रहरी गोली लागेर ज्यान गुमाएका युवकको शव दुई दिनसम्म घटनास्थलमै छ । बरहथवा– ६ का २८ वर्षीय जयशंकर साहको शव उठाउने प्रयास गरे पनि स्थानीयको अवरोधका कारण शनिबार रातिसम्म नयाँ रोड–बरहथवा सडकखण्डअन्तर्गत चोर्निया पुलमै छ ।

शव व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला नेतृत्वमा शनिबार राति इलाका प्रहरी कार्यालय बरहथवामा बसेको सुरक्षा समिति, आन्दोलित समूह र मृतकका आफन्तबीच छलफल भए पनि सहमति जुटेन । सिडिओ धमलाका अनुसार बैठक आइतबार बिहान फेरि बस्नेछ ।

पीडित र स्थानीयले मृतकलाई सहिद घोषणा गर्नुपर्ने, अस्पतालमा मृतकको सालिक निर्माण गर्नुपर्ने, बरहथवाका मेयर कल्पनाकुमारी कटुवालको राजीनामा र कारबाही हुनुपर्ने, इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख डिएसपी गंगाबहादुर थापालाई निलम्बन गर्नुपर्ने र घटनाका दोषी प्रहरीमाथि कारबाही गर्नुपर्ने माग राखेका छन् । मृतकका भान्जा विवेक साहले आफूहरूले अघि सारेका मागको सुनुवाइ नभएसम्म शव उठाउन नदिने र आन्दोलन थप चर्काउने बताए ।

बरहथवा घटनालाई लिएर शुक्रबार जिल्ला प्रशासनमा बसेको सर्वदलीय बैठकले मृतकको शव व्यवस्थापन गर्ने, गोली चलेको घटनामा प्रहरी दोषी देखिए कारबाही गर्ने, मृतकप्रति समवेदना व्यक्त गर्ने, प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा अधिकारीले घटनास्थलको स्थलगत निरीक्षण गर्ने निर्णय गरेको थियो । तर, स्थानीयले शनिबार पनि निषेधाज्ञाबीच प्रदर्शन जारी राखे । स्थानीयले मृतकको शव घटनास्थलमै राखेर बजार क्षेत्रमा प्रदर्शन गरे राखे । बजार शनिबार पनि बन्द रह्यो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  ०८:२३
प्रतिक्रिया दिनुहोस्