खडेरीले हिउँदेबाली सुकेर नष्ट भएपछि चिन्तित कृषक

बिहीबार, पुस १२, २०८०

दार्चुला– हिउँदे वर्षा नभएपछि दार्चुलामा यस वर्ष हिउँदेबाली सुक्न थालेको छ । असोज पहिलो सातादेखि पानी नपरेपछि हिउँदे बाली सुक्न थालेको हो । खडेरीका कारण लगाइएकोे बालीसमेत सुक्न थालेपछि कृषक चिन्तित भएका छन् ।

लामो समयसम्मको खडेरीका कारण जिल्लामै गहुँ, जौ, उवा, केराउ, मसुरोलगायत बालीको उत्पादनमा निक्कै कमी हुने देखिएको छ । यसवर्ष खडेरीका कारण अधिकांश क्षेत्रमा लगाइएको हिउँदेबाली सुकेर नष्ट भएपछि वर्षभरि कसरी परिवार पाल्ने हो भन्ने चिन्ताले सताउन थालेको शैल्यशिखर नगरपालिका–६ का किसान शिवसिंह धामीले बताउए ।      

आकासे पानीको भरमा खेती गरिने जिल्लाका अधिकांश क्षेत्रमा पानी नपरेपछि सबैजसो अधिकांश बाली सुक्न थालेका छन् । जिल्लामा पाँच हजार नौ सय ६५ हेक्टर जमिनमा गहुँखेती गरिँदै आएकामा ३२ दशमलव सात प्रतिशत जमिनमा मात्रै  सिँचाइको  सुविधा रहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चन्द्रबहादुर ठगुन्नाले बताए । 

सिँचाइको सुविधा नभएका ठाउँमा कतिपय किसानले गहुँबालीसमेत छर्न पाएनन् भने छरेका ठाउँमा पनि खडेरीका कारण बाली सुक्न थालेको उनको भनाइ छ । सिँचाइको सुविधा नभएको उक्त क्षेत्रमा हिउँदेबाली लगाएपछि पानी नपरेका कारण बाली सुक्न थालेको शैल्यशिखर–७ का अर्का किसान मनिराज जोशीले जानकारी दिए । जिल्लाका अन्य क्षेत्रमा बाली सुक्न थालेको किसानले बताएका छन् । कतिपय ठाउँमा सिँचाइका लागि पानी भए पनि भौतिक पूर्वाधार नहुँदा सिँचाइ गर्न समस्या भएको छ । 

खेतीकै भरमा जीविकोपार्जन गरिरहेका जिल्लाका अधिकांश ठाउँका किसान उत्पादनमा कमी आउने देखिएपछि चिन्तित भएका छन् । गतवर्ष दार्चुलामा १४ हजार १३ मेट्रिकटन गहुँ उत्पादन भएकामा यस वर्ष भने समयमै पानी नपरेपछि गहुँ उत्पादनमा कमी आउने अनुमान गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १९:५२
प्रतिक्रिया दिनुहोस्