सहकारी ठगी प्रकरण

जीबी राई विदेश भागेको आशंका, डिफ्युजन नोटिसका लागि इन्टरपोलमा पत्राचार

बुधबार, पुस ११, २०८०

काठमाडौं– सहकारी ठगी प्रकरणमा बिख्यात भएका गितेन्द्रबाबु राई (जीबी)सहितका केही व्यक्तिलाई नेपाल प्रहरीले चाँडै पक्राउ गर्ने भएको छ ।

नेपालका विभिन्न स्थानमा खोजी गरेको नेपाल प्रहरीले जीबीलाई पत्ता लगाउन नसकेपछि विदेश भागेको आशंका गरेको छ ।

यसैकारण जिल्ला प्रहरी कार्यालय कास्कीले प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखालाई पत्राचार गरी डिफ्युजन नोटिसका लागि अनुरोध गरेको छ । जीबी ग्यालेक्सी टेलिभिजनका अध्यक्ष हुन् ।

करिब १० महिनादेखि ग्यालेक्सीमा कार्यरत पत्रकारले तलब पाएका छैनन् । यता सेटिङ मिलाएर राई फर्किने तयारीमा रहेका बेला सूर्यदर्शनदेखि सहारा सहकारी ठगीसम्मका विवरण सतहमा आएपछि उनी थप दबाबमा परेका छन् ।

राई विदेशमा रहेको सूचना प्रहरीले पाएका कारण अब इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरेर पक्राउको तयारी भएको उच्च स्रोतले जानकारी दियो ।

फरार अभियुक्त पक्राउका लागि गरिने नोटिसलाई ‘डिफ्युजन’ भनिन्छ । अपराधी करार नभएको तर फरार रहेकालाई पक्राउका लागि विदेशी प्रहरीको सहयोग वा जानकारीका लागि यस्तो नोटिस जारी हुने गरेको छ ।

अदालतबाट दोषी करार भई फरार रहेकालाई भने रेडकर्नर नोटिस जारी गरिन्छ । जीबी राईसहितका सहकारी सञ्चालक फरार मात्र रहेका कारण डिफ्युजन नोटिस जारी हुन लागेको हो । नेपाल प्रहरी प्रधान कार्यालयले पत्राचार गरेपछि इन्टरपोलले यस्तो नोटिस जारी गर्नेछ ।

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १४:५१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार