हत्या अभियुक्त प्रहरी नियन्त्रणमा

बारामा प्रिन्सिपलको हत्या गरी भारतमा लुकेका सुटर सिंहको घुँडामुनी प्रहरीले ठोक्यो गोली

बुधबार, पुस ११, २०८०

काठमाडौं दुई महिनाअघि बाराको कलैया उपमहानगरपालिका स्थित बाल एकता स्कुलका सञ्चालक रुपेश स्वर्णकारको हत्याका मुख्य सुटर सुजित सिंहलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ।

प्रेम सम्बन्धका कारण हत्या भएको खुलासा भएको उक्त प्रकरणका मुख्य सुटर भारतमा लुकेर बसेका थिए। प्रहरीले उक्त प्रकरणका मुख्य योजनाकार कलैयाका की राधा गुप्तासहित जाबेर अख्तर, चन्दन यादव, रियाज अन्सारी अभिनव कुमार सिंहलाई पक्राउ गरेको थियो। तर सिंह फरार थिए।

सीमावर्ती क्षेत्रमा अपराधको जालो बिछाएका सिंह फेरि कुनै हत्याको योजना बनाएर नेपाल फर्किएका थिए। तर, तिव्र खोजीमा रहेको बारा प्रहरीले उनलाई यस पटक भने उम्कन दिएन।

योजनापछि भारतको मोतीहारी घर भएका २५ वर्षीय सिंहलाई बाराको बिश्रामपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

दुवै खुट्टामा प्रहरीको गोली लागेर घाइते भएका सिंहको उपचार प्रादेशिक अस्पताल कलैयामा भइरहेको छ। प्रहरीले सिंहले गरेको फायरको जवाफी फायर गरेको थियो।

सिंहले हानेको गोलीको खोका, थान घरेलु हतियार गोलीसहित उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

सिंहको अपराध पर्सा, बारा, रौतहटलगायतका सीमावर्ती क्षेत्रमा बढी हुने गरेको अनुसन्धानका क्रममा खुलेको छ। सिंहलाई भारतीय प्रहरीले पनि निगरानीमा राखेको थियो।

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १२:५६
प्रतिक्रिया दिनुहोस्