टीआरसी विधेयकमाथि छलफल

तीन दलबीच टीआरसी विधेयकमा सकारात्मक छलफल

सोमबार, पुस ९, २०८०

काठमाडौँ– संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी विधेयक)मा सहमति जुटाउन बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठक सकिएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास बालुवाटारमा आज साँझ बसेको शीर्ष बैठकमा छलफल सकारात्मक बताइएको छ ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले सरकार पीडितमैत्री कानुन बनाउन तयार भएपछि सोमबारको छलफल सकारात्मक भएको जानकारी दिए । उनका अनुसार पीडितमैत्री कानुन बनाउन सरकार तयार भएको र त्यसै आधारमा अगाडि बढ्दा सहमतिको नजिक पुग्न सकिने तीन दलका शीर्ष नेताबीच सकारात्मक छलफल भएको छ ।

यद्यपि, यो विषयमा शीर्ष नेताहरुबीच अझै छलफल अगाडी बढाइने उनले बताए ।

हाल प्रतिनिधिसभाको समितिमा विचाराधीन रहेको बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकका अन्तर्वस्तुमा प्रमुख दलहरुबीच सहमति जुट्न सकेको छैन् ।

गत आइतबार पनि प्रमुख तीन दलका शीर्ष नेताले विधेयकमाथि छलफल गरेका थिए । सोही विधेयकलाई अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेतासहितको आजको बैठक राखेका हुन् ।

प्रधानमन्त्री सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री प्रचण्डसँगै कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ र राष्ट्रियसभाका पूर्वसदस्य तथा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी सहभागी भएका थिए । त्यस्तै, बैठकमा नेकपा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, नेता अग्नि खरेल र संसदीय दलका सचेतक महेश बर्तौला सहभागी भएका थिए । नेकपा माओवादी केन्द्रबाट उपमहासचिव वर्षमान पुन र नेता खिमलाल देवकोटा सहभागी भए थिए ।

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  २०:१७
प्रतिक्रिया दिनुहोस्