चुनाव हारेका कृष्ण सिटौलालाई राष्ट्रिय सभामा छिराउने प्रयास, नारायणकाजीको दोस्रो संस्करण

सोमबार, पुस ९, २०८०

काठमाडौंआगामी महिना हुने राष्ट्रिय सभाको निर्वाचनमा नेपाली कांग्रेसका नेता कृष्ण सिटौलालाई निर्वाचित गराउने खेल सुरु भएको छ।

आम निर्वाचनमा झापा मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित भएका सिटौलालाई राष्ट्रिय सभामा छिराउँदै सरकारमा समेत लैजाने तयारी भएको हो।

यसैकारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी महिना मात्र मन्त्री हेरफेरको तयारी गरेका छन्। त्यसबेला सिटौलालाई उपप्रधानसहित महत्वपूर्ण मन्त्रालय दिएर कांग्रेसबाट पठाउने तयारी गरिएको उच्च स्रोतले दाबी गरेको छ।

विज्ञहरूलाई राख्ने राष्ट्रिय सभालाई राजनीतिक भागवन्डाको केन्द्र बनाइएको छ। अझ, निर्वाचनमा पराजित नै भइसकेका मानिसलाई लगेर राजनीतिक अनैतिकताको प्रस्तुती गरिन लागिएको हो।

सिटौला झापामा लिङदेनसँग १३ हजार बढी मतान्तरमा पराजित भएका थिए। सिटौलाले ३११५९ मत ल्याए भने लिङ्देनले ४४६१४ मत ल्याएका थिए।

नेताको भाग मिलाउने केन्द्रका रुपमा राष्ट्रिय सभा बनाइएको छ। यसैका लागि सिटौलालाई कांग्रेसभित्रको समीकरण मिलाउनका लागि ल्याउने तयारी भएको हो, स्रोतले भन्यो,‘तर यसको कांग्रेसभित्र शेखर कोइराला समूहले नै बिरोध गरेको छ।

यसअघि गोरखा मा चुनावमा पराजित हुँदा हालका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई माओवादी केन्द्रले राष्ट्रिय सभामा छिराएको थियो। यस्तै, यसअघि नेकपाका तर्फबाट बामदेव गौतमलाई पनि लगिएको थियो।

यो गलत राजनीतिक संस्कार बसाइएको छ। यसलाई न्यूनिकरण गर्नुको साटो अझ बढावा दिने काम भइरहेको , कांग्रेसका एक नेता भन्छन्,‘आन्तरिक समीकरण मिलाउने नाममा अनैतिक सौदाबाजी गर्नु राम्रो होइन।

राष्ट्रिय सभामा १९ जना सदस्य पद रिक्त हुँदैछ। १८ जना निर्वाचित हुनेछन् भने एक जना राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा नियुक्त गर्नेछन्।

एमालेलाई शुन्य पार्नेगरी गठबन्धनले १८ रिक्त पदमा भागवन्डाको तयारी गरेका छन्। उता, एमालेले भने १८ मध्य १२ जना सदस्य कांग्रेसलाई दिन अर्को प्रस्ताव गरेको पनि चर्चामा छ।

कांग्रेसमा सिटौलासहित गोपालमान श्रेष्ठ, आनन्दप्रसाद ढुंगानालगायतलाई ल्याउने चर्चा छ। त्यहाँमाथि राष्ट्रिय सभा अध्यक्षमा पनि कांग्रेसको दाबी रहेको छ।

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १२:५३
प्रतिक्रिया दिनुहोस्