सूर्यदर्शन सहकारीको रकम हजम प्रकरण

जीबी राईका अर्का पार्टनर हुन् पूर्वडीआईजी छविलाल जोशी, ग्यलोक्सी टीभीका उपाध्यक्ष थिए

सोमबार, पुस ९, २०८०

काठमाडौं– पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको अर्बौं रकम हिनामिनामा जोडिएपछि फरार रहेका ग्यालेक्सी टीभीका सञ्चालक गितेन्द्रबाबु (जीबी) राईका अर्का पार्टनर नेपाल प्रहरीका पूर्व नायव महानिरिक्षक (डीआईजी) छविलाल जोशीका नाममा पनि रकम पुगेको प्रतिवेदनमा उल्लेख छ ।

पुलेसो ऋणका नाममा एक करोड रुपियाँ लिएको पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, पूर्वडीआईजी जोशीले पनि रकम लिएको खुलासा भएको हो । उनी ग्यालेक्सी टीभीका उपाध्यक्ष थिए । उनैले चलाएको नेचर हर्ब र नेचर नेक्स्ट नामक नेटवर्किङ कम्पनीमा समेत सहकारीको रकम अवैध रूपमा लगानी गरेको प्रतिवेदनमा छ।

जब यो नेटवर्किङ व्यावसाय अवैधानिक भन्ने विवरण सतहमा आए अनि ग्यालेक्सी टीभीको बोर्ड उपाध्यक्षबाट जोशीलाई हटाएको बताइएको थियो। तर, असलमा नाम मात्र हटाए पनि सञ्चालक मध्यका उनी एक रहेको स्रोतले जनाएको छ ।

सूर्यदर्शन प्रकरणमा प्रहरी प्रशासनले पनि गतिलोसँग काम नगर्नुको कारण लामिछाने त जोडिएका नै थिए पूर्वडीआईजी जोशीको इन्ट्रेस्टले पनि काम गरेको बताइन्छ ।

‘जीबी राई पक्राउ गर्नासाथ पूर्वडीआईजीदेखि पूर्वगृहमन्त्री रहेका लामिछानेसम्म जोडिने भएपछि यस प्रकरणलाई सुल्झाउने प्रयासमा प्रशासन लागेको छैन’, पीडित मध्यका एक जना भन्छन्,‘त्यसैले हामीले संघर्ष समिति बनाएर नै आन्दोलन गर्नुपरेको हो ।’

सहकारी ठगीमा जोडिएका नै नेटवर्किङमा पनि सक्रिय

नेचर हब्र्स इन्टरनेशनल प्रालिले एउटा अनुमति लिएर अर्को कारोबार गरेको खुलेको थियो। अचम्मको विषय के छ भने सूर्यदर्शन सहकारी ठगी प्रकरणका आरोपी नै यो शंकास्पद व्यावसायका साझेदार रहेको खुलेको छ।

जीबी राई र जोशी सञ्चालक रहेको उक्त कम्पनीले बिनाअनुमति कारोबारस्थल परिवर्तन गरेको वाणिज्य विभागले पत्तो लगाएको थियो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ९ वटै कम्पनीमा अनुगमन गरेको थियो, जहाँ नेचर हब्र्स पनि संलग्न थियो। नेचर हब्र्स त्यहि हो, जसका नाममा अवैधानिक हिसाबले सूर्यदर्शन सहकारीको रकम दिइएको थियो ।

विभागका अधिकारीका अनुसार नेचर हब्र्सले ललितपुर महानगरपालिका–५ बाट कारोबार गर्ने इजाजत पाएको थियो। अहिले उसले काठमाडौं–१० शंखमुलबाट कारोबार गरिरहेको छ ।

यसरी कारोबारस्थल परिवर्तन गर्दा उसले विभागसँग अनुमति नलिएको पाइएको थियो । जसलाई वस्तुको प्रत्यक्ष बिक्री व्यवस्थापन तथा नियमन गर्ने ऐन २०७४ ले दण्डनीय मानिएको थियो ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुँदा पनि नेचर हब्र्सले आफ्नो ठेगाना ललितपुर–५ नै लेखेको थियो । नेचर २०७७ असार १ गते कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको थियो ।

नेचरले विभागबाट २०७७ असार १८ गते कारोबारको अनुमति लिएको थियो ।

ऐनमा कसैले इजाजत पत्रमा उल्लेखित कुनै सामान्य विवरण परिवर्तन गर्न चाहेमा तोकिए बमोजिमको दस्तुरसहित तोकिए बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने व्यवस्था छ ।

नेचर हब्र्समा राईको ९० लाख र जोशीको १० लाख सेयर थियो। अनुमति लिएको ११ दिनभित्र दुबैले सेयर कुमार रम्तेल र रामबहादुर खनालको नाममा लगेका थिए। रम्तेल सूर्यदर्शन प्रकरणमा पक्राउ परेका व्यक्ति हुन् ।

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  ११:४०
प्रतिक्रिया दिनुहोस्