इमरान खानको पार्टीको चुनाव चिन्ह खारेज

शनिबार, पुस ७, २०८०

काठमाडौँ - पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीलाई ठूलो झट्का लागेको छ । निर्वाचन आयोगले खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) बाट ब्याट चिन्ह फिर्ता लिएको छ ।

पार्टीभित्र निर्वाचन हुन नसकेको भन्दै निर्वाचन आयोगले यस्तो कारबाही गरेको हो ।

यसअघि पेशावर उच्च अदालतले बिहीबार निर्वाचन आयोगलाई पीटीआईको अन्तरदलीय निर्वाचन र निर्वाचन चिन्हका विषयमा कानुनबमोजिम निर्णय गर्न निर्देशन दिएको थियो । निर्वाचन आयुक्त सिकन्दर सुल्तान राजाको अध्यक्षतामा पाँच सदस्यीय बेन्चले जुनमा भएको पीटीआईको अन्तर–दलीय निर्वाचनलाई अमान्य घोषित पनि गरेको छ ।

पीटीआईले जुन २०२२ मा अन्तर–पार्टी (अधिवेशन) चुनाव गराएको थियो । जसमा ब्यारिस्टर गौहर अली सहजै पार्टीको नयाँ अध्यक्षमा निर्वाचित भएका थिए । तर, निर्वाचन आयोगले ती निर्वाचनलाई अवैध घोषणा गर्दै २० दिनभित्र पुनः निर्वाचन गराउन निर्देशन दिएको थियो ।

पीटीआई अध्यक्ष गौहरले व्यक्तिगत प्रतिशोधमा आधारित राजनीतिक निर्णय भएको बताएका छन् । बदला लिने र पार्टीका उम्मेदवार र मतदातालाई भ्रममा पार्न आयोग नै लागेको बताए ।

निर्णयपछि अब पार्टीका उम्मेदवारले स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लड्नु पर्ने भएको छ ।

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  ०८:५९
प्रतिक्रिया दिनुहोस्