कांग्रेसभित्र किचलो

पौडेललाई प्रथम नागरिक बनाएपछि कोइरालालाई किन बरिष्ठ बनाइएन?

बुधबार, पुस ४, २०८०

काठमाडौं१४औं महाधिवेशनमा तटस्थ बसेर कांग्रेस सभापति शेरबहादुर देउवालाई मौन समर्थन गरेका रामचन्द्र पौडेललाई पुरस्कार स्वरुप देशको प्रथम नागरिक अर्थात् राष्ट्रपतिमा निर्वाचित गराइयो। त्यसअघि उनलाई बरिष्ठ नेता अर्थात् बरियतामा सभापति पछाडिको सम्मानमा राखिएको थियो।

पौडेललाई उक्त पुरस्कार दिएपछि अहिले बरिष्ठ नेताको बरियता खाली छ। तर, सभापति देउवाले कसैलाई पनि उक्त स्थान तोकेका छैनन्। कांग्रेसका दुई वटा केन्द्रीय समितिका बैठक सकिए पनि यस विषयमा न प्रस्ताव गयो न सभापतिले विशेषाधिकार प्रयोग गरेका छन्।

पदीय मर्यादामा हेर्ने हो भने अहिले दोस्रो वरियतामा उपसभापति पूर्णबहादुर खड्का छन्। तर, इतर समूहको नेतृत्व गरिरहेका डा. शेखर कोइरालालाई भने बरियताको २१ औं स्थानमा राखिएको छ। यसको अर्थ, सबै पदाधिकारीभन्दा तल पारिएको छ। देउवाले जानाजान यस्तो गरेको कोइराला समूहका नेताको आरोप छ। तैपनि पदाधिकारीमा रहेका कोइराला खेमाका नेताले पनि बरियताको विषयमा प्रश्न त के प्रस्ताव समेत गरेका छैनन्।

सभापतिमा निर्वाचनमा पराजित हुने नेता स्वतः बरिष्ठ नेता हुने प्रचलन थियो। १३औं महाधिवेशनमा देउवासँग पराजित भएका पौडेल बरिष्ठ नेता बनाइएका थिए। तर, १४औं महाधिवेशनमा पराजित भएका कोइराला जो संस्थापनको विपक्षी नेता पनि हुन् उनलाई किन बरिष्ठ बनाइएन? अहिले कांग्रेसभित्रको अर्को बहस यहि चलिरहेको छ।

१५औं महाधिवेशनपछि कोइरालालाई सभापतिका रुपमा हेर्ने निक्कै नेता छन्। उपसभापति धनराज गुरुङले त समूहको बैठकमा नै कोइराला आगामी सभापति रहेको बताउँदै अहिले बरियतामा बरिष्ठ नेताको जिम्मेवारी दिनुपर्ने बताएका थिए। तर, यहि विषय उनले पनि केन्द्रीय समितिको बैठकमा उठाएनन्।

कोइराला खेमाबाट महामन्त्रीमा बिजयी भएका गगनकुमार थापाले पनि बरिष्ठ नेताको जिम्मेवारीका विषयमा चुइँक्क गरेका छैनन्। तर, समूहको बैठकमा भने उनले कोइरालालाई संसदीय दलको नेता बनाउनुपर्ने धारणा राख्दै पुनःनिर्वाचनको विषय पनि उठान गरे। जबकि, सो पदका लागि सभापति देउवासँग थापा आफैं पनि पराजित भएका थिए।

कोइरालाले कांग्रेसभित्र प्रभाव पारिरहेका छन्। उनकै कारण कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की निर्वाचित भएपछि कांग्रेस एक प्रकारको दबाबमा पुगेको थियो र संस्थापन पक्षका नेता उद्धव थापाले संसदीय दलको नेताको पदबाट राजीनामा दिनु परेको थियो। यस्तो अवस्थामा सभापति देउवा पक्षले पनि कार्कीलाई संसदीय दलको नेता बनाउन बाध्यकारी हुन पर्यो।

जसले जे भने पनि सभापतिमा चुनाव लडिसकेपछि पराजित हुँदा सर्मनाक होइन, एउटा समूहको सम्मानजनक मतान्तर ल्याएको नेतालाई अबमुल्यन गर्न नहुने हो, एक केन्द्रीय सदस्य भन्छन्,‘रामचन्द्र दाई सिनियर नेता रहँदा दाबी गर्ने कुरा थिएन तर उहाँ राष्ट्रपति भइसकेपछि सभापतिजीले सिधै कोइरालालाई उक्त स्थानमा लग्नुपर्ने थियो तर इगो साँध्ने काम भएको जस्तो देखियो।

हुन त देउवाले मात्र आलटाल गरेका होइनन्। तत्कालिन सभापति गिरीजाप्रसाद कोइरालाको नेतृत्व हुँदा इतर समूहको नेतृत्व गरेका देउवालाई पनि बरिष्ठ नेता बनाइएको थिएन। एक समूह शक्तिमा आएपछि अर्कोलाई पेल्ने त परम्परा नै छ।

हुन त नेपालका राजनीतिक दलका हकमा यस्ता अनेक किस्सा छन्। एमालेमा तत्कालिन बरिष्ठ नेता रहेका झलनाथ खनाललाई बाइपास गरी नेकपा हुँदा बरियताको तेस्रो हक माधवकुमार नेपाललाई दिइयो। दुई पार्टी एकीकृत हुँदा दुइटा अध्यक्षहरु केपी शर्मा ओली र प्रचण्डपछि खनालको हक थियो। यस विषयमा खनालले आपत्ति पनि जनाएका थिए। तर, जसको शक्ति उसैको प्रयोग हुने परम्परा कायम राख्दा यस्तो बेथिति देखिने कतिपय राजनीतिक विश्लेषकहरू बताउँछन्।

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  ११:४२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार