हिन्दूत्व र राजसंस्थाको चर्चाबीच ज्ञानेन्द्र देशाटनमा निस्कने, योगी आदित्यनाथलाई भेट्ने कार्यक्रम के छ?

सोमबार, पुस २, २०८०

काठमाडौंआगामी साताबाट राजा ज्ञानेन्द्र शाह देशाटनमा निस्कने तय भएको छ। रानी कोमल शाहसहित भैरहवा हुँदै उनी मध्य र पश्चिम क्षेत्रको भ्रमणमा निस्कन लागेका हुन्।

प्रायः हिउँदको समयमा ज्ञानेन्द्र नागरिक अभिनन्दनसहित महत्वपूर्ण भेटका लागि देशाटनमा निस्कने गरेका छन्। यहि क्रममा उनले पश्चिम क्षेत्रको स्थलमार्ग हुँदै उत्तर प्रदेशसम्मको यात्रा गर्दै आएका थिए। सो क्रममा उनलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सम्मान पनि गर्दै आएका थिए। 

संवाद सचिवालयले भ्रमणको विषयमा मात्र जानकारी दिए पनि उत्तर प्रदेशका मुख्यमन्त्री अर्थात् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका खास मानिने योगी आदित्यनाथलाई भेट्नेबारे खुलासा गरेको छैन। तर, उच्च स्रोतका अनुसार उत्तर प्रदेश भ्रमणको तालिका मिलाउने काम पनि भइरहेको छ।

यसअघिको भेटमा योगी आदित्यनाथले उनलाई राजाका रुपमा सम्मान गरेका थिए। आदित्यनाथले भनेका थिए,‘नेपाल नरेशलाई स्वागत गर्न पाउँदा, सम्मान गर्न पाउँदा हर्षित भएको छु।

त्यसो त हिन्दूत्व, नेपालको राजसंस्थाका विषयमा योगी जहिल्यै पनि सकारात्मक रहेका थिए। लोक सभाको सांसद हुँदा उनी नेपालको पशुपति क्षेत्रमा भएको विश्व हिन्दू सम्मेलनको कार्यक्रममा उपस्थित हुँदा ज्ञानेन्द्र प्रमुख अतिथि थिए। सोही क्रममा पनि योगीले नेपाल गणतान्त्रिक भन्दा पनि हिन्दू राजासहितको प्रजातान्त्रिक मुलुक रहन आवश्यक रहेको बताएका थिए।

ज्ञानेन्द्रले भारतका विभिन्न स्थानमा प्रमुख अतिथिका हैसियतमा अनेक कार्यक्रममा सहभागीता जनाइसकेका छन्। केही बर्षअघि मात्र पनि उनले बनारसमा पुगी हिन्दू धर्म गुरुहरूको भेलामा प्रमुख अतिथिका हैसियतमा सम्बोधन गरेका थिए भने गंगा स्नान पनि गरेका थिए।

अहिलेको भारतीय संस्थापनका कतिपय उच्च तहका नेताले समेत नेपालमा राजसंस्था र हिन्दूत्वको वकालत गरिरहेका छन्। यद्यपि, भारतीय प्रधानमन्त्री मोदीले भने यस विषयमा केही बोलेका छैनन्।

०६५ साल जेठ १५ गते नेपाललाई औपचारिक रुपमा गणतान्त्रिक मुलुक घोषणा गरेपछि ज्ञानेन्द्रले नारायणहिटी छाडेका थिए। कतिपय राजनीतिक दलका नेताले नेपालमा गणतन्त्र ल्याउनका लागि ज्ञानेन्द्रले नै सहयोग गरेको टिप्पणी पनि गर्दै आएका छन्।

नेपालमा राजसंस्था र हिन्दूत्वको विषयमा चर्को बहस र प्रदर्शन भइरहेका बेला ज्ञानेन्द्रको देशाटनलाई महत्वका साथ हेरिएको छ। अझ उनले उत्तर प्रदेश भ्रमण गरे भने यो विषयमाथि निक्कै टिका टिप्पणी हुने प्रक्षेपण गरिएको छ।

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १२:२५
प्रतिक्रिया दिनुहोस्