अन्तर्राष्ट्रिय शान्तिका लागि नेपाल १० हजारसम्म सेना तैनाथ गर्न तयार : उपप्रधानमन्त्री खड्का

शनिबार, मंसिर २३, २०८०

घाना - उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल संयुक्त राष्ट्रसंघको अनुरोधमा १० हजारसम्म सेना तैनाथ गर्न प्रतिबद्ध रहेको बताएका छन्। घानाको आक्रामा भएको अन्तर्राष्ट्रिय शान्ति स्थापना सम्बन्धी संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय सम्मेलनमा सम्बोधनका क्रममा उपप्रधानमन्त्री खड्काले नेपालले धेरैजसो प्रतिबद्धता पूरा गरिसकेको र बाँकी केही प्रतिबद्धता पूरा गर्ने क्रममा रहेको समेत बताए ।

मन्तव्यका क्रममा उपप्रधानमन्त्री खड्काले घाना सरकारलाई शिखर सम्मेलन आयोजना गरेकोमा समेत धन्यवाद दिए।उनले संयुक्त राष्ट्रका महासचिवद्वारा पहलमा सुरु गरिएका एक्सन फर पिस र एक्सन फर पिस प्लस कार्यक्रमलाई नेपालले सदैव समर्थन गर्दै आएको समेत बताए।यसले शान्ति सैनिकहरूको सुरक्षा र सुरक्षाको आवश्यकता र नागरिक सुरक्षाप्रतिको प्रतिबद्धता सुनिश्चित गर्ने उनको भनाइ छ।

‘हामीले हाम्रा सैनिकहरुलाई जस्तोसुकै चुनौतीपूर्ण अवस्थामा पनि तैनाथीका लागि तयार राखेका हुन्छौं। हामी सुनिश्चित गर्छौं कि हाम्रा शान्ति सैनिकहरूले आचरण र अनुशासनको उच्चतम मापदण्ड पूरा गर्छन्, र हामी यौन शोषण र दुर्व्यवहार विरुद्ध शून्य९सहिष्णुता नीतिलाई दृढतापूर्वक पालन गर्छौं’, उपप्रधानमन्त्री खड्काले भने।

नेपाल शान्ति स्थापनाको प्रभावकारिता सुनिश्चित गर्न टीपीसीसीलगायत सम्बन्धित प्रमुख सरोकारवालाहरूबीच सुधारिएको समन्वय संयन्त्र धेरै महत्त्वपूर्ण छ भन्नेमा नेपाल विश्वास गर्ने उनले बताए। उहाँले शान्ति स्थापना साझेदारीपूर्ण कार्य भएको र घोषित लक्ष्य पूरा गर्न सबै एकजुट हुनुपर्ने धारणा राखे।

प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  १०:३८
प्रतिक्रिया दिनुहोस्