Nic Ad Nic Ad
Nic Ad Nic Ad

अध्यक्ष ओलीले विशेष पूजा आराधनापछि भने– राजतन्त्र फर्कँदैन

बिहीबार, मंसिर २१, २०८०

गलकोट– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा विशेष पूजा आराधना गरेका छन् ।  

मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा आज बागलुङ बजारमा आयोजित कार्यक्रमलाई सम्बोधनपछि अध्यक्ष ओली र उनकी श्रीमती राधिका शाक्यले कालिका मन्दिरमा विशेष पूजा आराधना गर्नुभएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए । 

पूजा आराधनापछि कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष खड्काले काठबाट बनाइएको कालिका मन्दिरको मूर्ति उपहार दिएका थिए । अध्यक्ष ओलीसहित मन्दिर पुगेका एमाले उपमहासचिव प्रदीप ज्ञवालीलगायतको टोलीलाई गुठी व्यवस्थापन समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए ।

अध्यक्ष ओलीले मन्दिरमा राखिएको आगन्तुक पुस्तिकामा सुझावसहित हस्ताक्षर गरेका थिए ।  बागलुङ कालिका भगवती मन्दिर नेपालको एक प्रसिद्ध शक्तिपीठ भएको उल्लेख गर्दै अध्यक्ष ओलीले मन्दिर परिसरमा विवाह गरिरहेका जोडीलाई बधाई दिएका थिए । 

राजतन्त्र फर्कँदैन : ओली

एमाले अध्यक्ष ओलीले आजै पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै मुलुकमा राजतन्त्र फर्कन नसक्ने दाबी गरे । “जसरी २०६५ साल फर्कन सक्दैन, त्यसैगरी राजतन्त्र पनि फर्कँदैन”, उनले भने । सो अवसरमा उनले आगामी निर्वाचनमार्फत एमालेले एकल बहुमत ल्याउने दाबी पनि गरे ।

यही मङ्सिर १४ गतेदेखि सुरु भएको २१ दिने अभियानमा सङ्कलन गरिएका सबै माग र सुझाव बटुलेर राष्ट्र निर्माणको खाका र योजना बनाउने उहाँको भनाइ थियो ।

सङ्कल्प यात्रामा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, रामबहादुर थापासहित महासचिव शङ्कर पोखरेललगायतका नेताहरू सहभागी भएका थिए । त्यस अवसरमा एमाले केन्द्रीय सदस्य तथा सांसद पदम गिरीले पर्वतको विकास निर्माण तथा अन्य आयोजनाहरूको मागपत्र प्रस्तुत गरेका थिए । –रासस

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १८:४५
प्रतिक्रिया दिनुहोस्