एनसेल शेयर खरिद–बिक्री विवाद

एनसेलकाे सेयर बिक्रीबारे बाबुरामकाे प्रश्न- अर्बाैंका यस्ता हर्कत कानुन विपरित हाकाहाकी कसरी हुनसक्छन् ?

सोमबार, मंसिर १८, २०८०

काठमाडौं- एनसेलको शेयर खरिदबिक्री प्रकरणबारे पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले कर छल्नकै लागि यस्ताेे काराेबार गरिएकाे आशंका व्यक्त गरेका छन्।

उनले यो प्रकरणमा सरकारको नेतृत्व र नियामक निकायसँग उनले जवाफ मागेका हुन्। मलेसियन कम्पनी आजिएटा ग्रुप बरहादले १ खर्ब ४३ अर्ब रुपैयाँमा किनेको नेपालको दूरसञ्चार सेवा प्रदायक एनसेलको ८० प्रतिशत सेयर ६ अर्बमा बिक्री भएपछि यसबारे बहस चलिरहेको छ।

एनसेलको शेयर खरिदबिक्री प्रकरणले प्रथम दृष्टिमै दालमा केही कालो भएको संकेत गरेको डा भट्टराईको भनाइ छ । यसले नेपालमा वैदेशिक लगानीका गम्भीर समस्या उजागर गर्ने उनले ठहर छ । साथै पुँजीगत लाभकर र अन्य कर छल्नकै निम्ति यो नाटक गरिएको भए देशलाई यस्ता छलकारी लगानीको अर्थ नरहने उनको विश्लेषण छ ।

डा भट्टराईले ट्वीटर (एक्स)मा लेखेका छन्, ‘‘१. यदि साँच्चै नै कुनै विदेशी कम्पनी आफ्नो शेयर लगानी वास्तविक मूल्यभन्दा २८ गुणा कम मूल्यमा बेचेर बाहिरिन बाध्य भएको हो भने भोलिको लगानीकर्ता यहाँ भित्रिन्छ ?, २. त्यसो हैन र पुँजीगत लाभकर र अन्य कर छल्नकै निम्ति यो नाटक गरिएको हो भने देशलाई यस्ता छलकारी लगानीको के अर्थ रहन्छ ? र ३. अर्बौं रकम बराबरका यस्ता हर्कत देशका ऐननियम विपरीत हाकाहाकी कसरी हुन सक्छन् ? यसमा राज्यका विभिन्न अङ्गमा हालीमुहाली गर्नेहरूको संलग्नता नभइरहन सक्छ ? सरकारको नेतृत्व र नियामक निकाय बोलोस् ।’’

गत बुधबार मात्रै आजिएटाले नेपालमा व्यावसायिक चुनौतीहरू बढ्दै गएकाले नेपालबाट बाहिरिने निर्णय गरेको घोषणा गरेको थियो।

आजिएटाले कुल ५ करोड अमेरिकी डलर (६ अर्ब ६५ करोड रुपैयाँ)मा शेयर बिक्री गरेको र यसमध्ये ५० लाख अमेरिकी डलर ६ महिनाभित्र भुक्तानी गर्नुपर्ने खरिद सम्झौता भएको उल्लेख गरेको छ।

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १३:३६
प्रतिक्रिया दिनुहोस्