वर्तमान सरकार चीनको सहयोग लिन डराउँछ : ओली

सोमबार, मंसिर १८, २०८०

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार चीनसँग सहयोग लिन डराउने गरेको बताएका छन् ।

उनले चीन सरकारले कुनैपनि कुरामा नेपाललाई सहयोग गर्ने भनिरहँदा पनि अर्को शक्तिका कारण वर्तमान सरकार सहयोग लिनबाट डराउने गरेको बताएका हुन् ।

सोमवार झुलाघाट–चिवाभञ्ज्याङ यात्राका क्रममा दैलेखमा आठ राजनीतिक दलहरूले बुझाएको ध्यानाकर्षपत्र बुझ्दै ओलीले राजनीतिक दलले अब राजनीतिक कुरा गरेर मात्र नहुने र विकासका लागि राजनीति गर्नुपर्ने बताए ।

उनले विकास अरु देशले आएर नगर्ने भन्दै आफ्नो देशको विकास आफैँले गर्नुपर्ने भएकाले तत्काल विकासको लागि काम थाल्न नेता/कार्यकर्ताहरुलाई निर्देशन दिए ।

‘अबका पोल्टिकल पार्टीहरुले पोल्टिक्स मात्रै गरेर हुँदैन । विकासका नेता हुनुपर्दछ । उनीहरले विकासको बारेमा जानकारी राख्नुपर्छ । कसरी विकास हुनसक्दछ, के हुनसक्छ यस्ता कुरालाई लिएर हामीले सोच्नुपर्छ । यसमा तत्काल काम थालिहाल्नुपर्ने आवश्यकता छ । किनभने कुनैपनि देश अर्काले आएर बनाइदिँदैन । आफ्नो देश आफैँले बनाउने हो ।’ उनले भने ।

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १२:३९
प्रतिक्रिया दिनुहोस्