रास्वपाकाे राजनीतिक प्रतिवेदन

मिशन ८४ छाडेर मध्यावधि निर्वाचतिर लागे रवि लामिछाने, राजनीतिक प्रतिवेदनमा के छ ?

बिहीबार, मंसिर १४, २०८०

काठमाडौं- राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिशन ८४ अघि नै निर्वाचन हुन सक्ने सम्भावना केलाउँदै मध्यावधि निर्वाचनको तयारी गर्नुपर्ने राजनीतिक प्रतिवेदन तयार पारेका छन् । 

मधेस प्रदेशको महोत्तरीमा भएको पार्टीको बैठकमा उनले यस्तो प्रतिवेदन राख्दै आवधिक निर्वाचन हुनेमा शंका गरेका हुन् ।

अहिलेको नारा मिशन ८४ फेरिएर नयाँ बन्ने उनको तर्क छ। अहिलेको अवस्थामा अझ चार बर्षसम्म राजनीतिक स्थिति रहेको खण्डमा मुलुक थप सिथिल हुन सक्ने आँकलन गरेका उनले मध्यावधि निर्वाचनको विकल्पमा जानुपर्ने उल्लेख गरेका हुन्। प्रष्ट रुपमा नभने पनि प्रदेश संरचना खारेजीको विकल्प लामिछानेले उठाएका छन् । उनले संरचना परिवर्तनको विषयलाई केन्द्रित गरी अहिलेको नागरिक असन्तुष्टिलाई सम्बोधन आवश्यक रहेको उल्लेख गरेका हुन् ।

लामिछानेले गणतन्त्रको विकल्पमा भने जान नसकिने जनाएका छन् । न उनले जनमत संग्रहको पनि विषय उठान गरेका छन्। उनले अहिलेका सडकका असन्तुष्टि र व्यवस्था परिवर्तनका विषयलाई प्रतिवेदनमा उतार्न सकेका छैनन्। बरु, यहि व्यवस्थामा अवस्था परिवर्तनको सवालचाहिँ उठाएका हुन्।

यसैबीच, रास्वपाको राजनीतिक धारणा र अहिलेको नागरिक आवाजको तालमेल नहुँदा घाटा हुन सक्ने देखिन्छ। पछिल्लो समय राजावादीको लोकप्रियता सामाजिक सञ्जाल र सडकमा पनि देखिएका कारण नयाँ दल रास्वपालाई धक्का लाग्न सक्ने अनुमान गरिएको हो। प्रतिपक्षमा रहे पनि नागरिकका आवाजलाई बलियो बनाउने रास्वपासित सडकमा देखिएको व्यापक असन्तुष्टिलाई सम्बोधन गर्न नसकेको आरोप लागिरहेको छ। 

एकातिर राप्रपाले राजा ज्ञानेन्द्र शाहसहितको लोकप्रियता र अर्कातिर दुर्गा प्रसाईंको अभियानकाबीच रवि लामिछाने सभापति रहेको पार्टीले राजसंस्थाका विषयमा चर्चा गरेको छैन।

अर्कातिर संघीयताको खिलाफमा जनमत बलियो भए पनि पार्टीको आधिकारिक दस्ताबेजमा रास्वपा यसमा पनि अस्पष्ट नै देखिएको छ। तर, उसको उदय भने वर्तमान व्यवस्थाविरोधी जनमतकै कारण भएको बताइन्छ। मूलधारका राजनीतिक दलले आफ्ना संगठित सदस्यहरुलगायत गिराएको जनमत जोगाउने तथा राप्रपालगायतले राजावादीको मत बलियो बनाउने ध्याउन्नमा दुवै विषयमा क्लियर नभएको रास्वपालाई धक्का लाग्न सक्ने बताइन्छ ।

मूलधारका राजनीतिक दलसँगको असन्तुष्टि र स्वतन्त्र सांसदले स्थानीय निर्वाचनमा ल्याएको जनमतलाई लक्षित गरी लामिछानेको नेतृत्वमा रास्वपा गठन हुँदै असन्तुष्टिको मत हात पार्न सफल भएको थियो। उपनिर्वाचनमा पनि लामिछानेको सक्रियता र रास्वपाको बलियो जनमतले राजनीति नै हल्लाएको थियो।

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  ११:४९
प्रतिक्रिया दिनुहोस्