Nic Ad Nic Ad
Nic Ad Nic Ad
जाजरकाेट भूकम्प

चिसोका कारण १५ जना भूकम्पपीडितले ज्यान गुमाए

मंगलबार, मंसिर १२, २०८०

काठमाडाैं - चिसोका कारण थप दुई भूकम्पपीडितको ज्यान गएको छ । जाजरकोटको नलगाड नगरपालिका– ८ सिमकी २५ वर्षीया सुत्केरी शर्मिला विक चदाराको शनिबार र  रुकुम पश्चिमको सानीभेरी गाउँपालिका– १ जंगलगाउँकी ६२ वर्षीया नन्दकली पुनको आइतबार मृत्यु भएको हो । यससँगै चिसोले ज्यान गुमाउने पीडितको संख्या १५ पुगेको छ ।

नलगाड नगरपालिकाको न्यायिक समिति सदस्य हरिबहादुर शाहीका अनुसार ८ कात्तिकमा  प्रादेशिक अस्पताल सुर्खेतमा सुत्केरी भएकी शर्मिला डिस्चार्ज भएर शुक्रबार घर फर्किएकी थिइन् । पालमुनि बसेकी उनको शनिबार मध्यराति मृत्यु भएको शाहीले बताए । ‘शर्मिलालाई सुत्केरी भएको एक महिनासम्म प्रदेश अस्पतालमै राखिएको थियो । अस्पतालले डिस्चार्ज गरेपछि एम्बुलेन्समार्फत घर पुर्‍याए पनि पालमुनि चिसोमा सुत्नुपर्‍यो, राति १ बजेतिर मृत्यु भयो,’ शर्मिलाका श्रीमान् दिनेशलाई उद्धृत गर्दै शाहीले भने ।

शर्मिलाले एक छोरा र एक छोरीलाई जन्म दिए पनि स्वास्थ्यकर्मीले छोरालाई मृत घोषणा गरेका थिए । छोरीको स्वास्थ्य अवस्था भने सामान्य रहेको शाहीले बताए । आमाको ज्यान गएपछि शिशुलाई पाउडर दूध खुवाउन थालिएको छ ।

त्यस्तै, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका– १ जंगलगाउँकी ६२ वर्षीया नन्दकलीको आइतबार मृत्यु भएको वडाध्यक्ष टेकबहादुर पुनले बताए । भूकम्पले घर बस्न नमिल्ने गरी चर्किएपछि उनी पालमा बस्दै आएकी थिइन् ।

मिर्गौलापीडित नन्दकली प्रादेशिक अस्पताल सुर्खेतमा डायलाइसिस गराइरहेकी थिइन् । पछिल्लोपटक अस्पतालले तिहारताका डायलाइसिसका लागि बोलाए पनि जान सकेकी थिइनन् । उपचार अभाव तथा चिसोका कारण उनको ज्यान गएको वडाध्यक्ष पुनको भनाइ छ ।

१७ कात्तिकको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ६२ हजार घर भत्काएपछि यहाँका बासिन्दा घरबाहिर त्रिपालमुनि बस्दै आएका छन् । मंसिरको चिसोमा त्रिपालले थेग्न नसकेपछि भूकम्पपीडित बिरामी पर्न थालेका छन् । दुई जिल्लामा अहिलेसम्म १५ जनाले ज्यान नै गुमाएका छन् । जाजरकोटमा १२ र रुकुम पश्चिममा तीनजनाले ज्यान गुमाएका हुन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  ०७:२१
प्रतिक्रिया दिनुहोस्