नेपाली सेनाद्वारा निःशुल्क स्वास्थ्य जाँच शिविर

शनिबार, मंसिर ९, २०८०

जानकी– बाँकेको राप्तीसोनारी गाउँपालिका वडा–९ ढकेरीमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा ढकेरीमा छ सय १७ जनाले स्वास्थ्य जाँच गराएका छन् । 

राप्तीसोनारी गाउँपालिकाको आयोजना, एचसिआरसी अस्पतालको सहयोग र बाँके राष्ट्रिय निकुञ्जमा तैनाथ नेपाली सेनाको अर्जुनबाण गणको समन्वयमा सञ्चालित शिविरमा आज उनीहरुले स्वास्थ्य परीक्षण गराएका हुन् ।  

श्री नंं ४ बाहिनी अड्डा इमामनगर ब्यारेकका बाहिनीपति सहायक रथी प्रकाश थापाद्वारा अनुगमन गरिएको उक्त शिविरमा ओभरीस्थित अर्जुनबाण गणका गणपति एवं नेपाली सेनाका प्रधानसेनानी अशोक खड्काले सहरी क्षेत्रको अस्पताल र चिकित्सकसँग सहज पहुँच नभएका स्थानीयलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरिएको बताए ।

“सहरसम्म पुगेर, महँगो अस्पतालमा पैसा खर्च गरेर, सामान्य स्वास्थ्य जाँच गराउनका लागि सबैले नसकिरहेको अवस्थामा हामीले यो शिविर गाउँपालिकासँग समन्वय गरेर सञ्चालन गरेका हौँ”, गणपति खड्काले बताए । उनले एकदिने शिविरमा स्वास्थ्य जाँच गराउन पाएकामा यहाँका स्थानीय बिरामी खुसी भएको बताए । 

मध्यवर्ती क्षेत्रका स्थानीय र सेनाबीचको सम्बन्ध विस्तारका लागि उक्त स्वास्थ्य शिविर सञ्चालन गरिएको राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेलले बताए । मेडिकल कलेजका अन्य डाक्टरसँगै सेनाका विशषज्ञ डाक्टरद्वारा स्थानीयको स्वस्थ्य जाँच गराउँदा त्यसको विश्वसनीयता बढ्ने भएकाले सेनासँग समन्वय गरिएको उनको भनाइ छ । 

गाउँपालिका स्वास्थ्य शाखा सिअहेब अधिकृत सुरेशकुमार शर्माले सबैभन्दा बढी नाक, कान र घाँटी र स्त्रीरोगसम्बन्धी स्वास्थ्य परीक्षण गरिएको बताए । नाक, कान र घाँटीका दुई सय ६० र स्त्रीरोगसम्बन्धी एक सय १२ जनाको स्वास्थ्य जाँच गरिएको थियो । त्यसैगरी दुई सय ५० जनाले सामान्य स्वास्थ्य जाँच गराएका छन् भने हाडजोर्नी तथा नशाका दुई सय ४८ जनाले स्वास्थ्य परीक्षण गराएका थिए । त्यसैगरी मुटुरोगसम्बन्धी ८०, छालारोगसम्बन्धी ६२, रगत जाँच ३२ र मुटुको धड्कन (इसिजी) ४५ जनाले स्वास्थ्य जाँच गराएका छन् । 

शिविरमा कोहलपुर मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज र आर्मी अस्पताल नेपालगञ्ज र राप्तीसोनारी गाउँपालिकाका एक चिकित्सक गरी नौ चिकित्सक सेवा दिनुभएको एचसिआरसी अस्पताल नेपालगञ्ज बाँकेका रमेश सिटौलाले बताए । उनका अनुसार एक जना बिरामीको एकैपटक तीनदेखि चारवटासम्म स्वास्थ्य जाँच गरिएको थियो । 

शिविरमा नेपाली सेनाका तर्फबाट हाडजोर्नीका डा अमिररत्न शाक्य, सामान्य स्वास्थ्य जाँचका डा सुरेश कायस्थ र नाक, कान घाँटीको डा कविर बाँस्तोलाले बिरामीको स्वास्थ्य जाँच गर्नुभएको थियो भने कोहलपुर मेडिकल कलेजबाट छालारोग विशेषज्ञ डा कमलजङ्ग शाही, मुटुरोग डा विपीन आर्चायले बिरामीको स्वास्थ्य जाँच गरेका थिए । महिलाको स्वास्थ्य जाँचका लागि महिला प्रसूति निःसन्तान विशषज्ञ डा मञ्जु विसी शाह, छालारोग डा आरके झाले स्वास्थ्य जाँच गरेका थिए । स्वास्थ्य शिविरमा निःशुल्क औषधि वितरण गरिएको छ । –रासस

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  २१:२२
प्रतिक्रिया दिनुहोस्