Nic Ad Nic Ad
Nic Ad Nic Ad
पुस्तक विमोचन

एकैसाथ दुई पुस्तक विमोचन

शनिबार, मंसिर ९, २०८०

भक्तपुर– शिक्षाप्रेमी, भाषाविद्, साहित्यकार एवं मध्यपुरथिमिका संस्कृतिविद् गणेशराम लाछीद्वारा लिखित दुई पुस्तक आज एकैसाथ मध्यपुरथिमिमा विमोचन गरिएको छ ।

बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री डा राजेन्द्रमान श्रेष्ठले लाछीका दुई पुस्तक ‘कर्मयोगी गणेशराम लाछी र बागमती प्रदेशका मूर्त–अमूर्त सङ्गीत’को विमोचन गरेका हुन् ।

विनायक शिक्षा निकेतन, अक्षरमार्ग प्रकाशन, मध्यपुर कला परिषद् र ख्यालिगुलु गुथिले आज संयुक्तरूपमा आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा मन्त्री डा श्रेष्ठले भाषा, साहित्य, गीत, सङ्गीत, कला, संस्कृति देशकै जीवन्त संस्कृति र धरोहर भएकाले यसको संरक्षणमा यस्ता पुस्तक निकै उपयोगी हुने बताए ।

कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले यहाँको सम्पदा, कला, संस्कृति र मूर्त–अमूर्त सम्पदाको संरक्षणमा लागिरहेको बताए । उपप्रमुख विजयकृष्ण श्रेष्ठले मध्यपुरथिमि सम्पदाको सहर भएको चर्चा गर्दै यहाँका कला, संस्कृतिको संरक्षण र पछिल्ला पुस्तालाई जानकारी गराउन यस्ता पुस्तक निकै उपलब्धिमूलक हुने बताए ।

नगरपालिकाका पूर्वप्रमुख मदनसुन्दर श्रेष्ठले मध्यपुरथिमिलाई कला, संस्कृतिको जीवन्त सहरका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याउँदै निकै उपलब्धिमूलक दुई पुस्तक र पुराना पुस्ताका अनुभवलाई पछिल्ला पुस्तासम्ममा लैजानुपर्नेमा जोड दिए ।

सो अवसरमा विनायक शिक्षा निकेतनका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापति, अक्षर मार्ग प्रकाशनका सूर्यप्रसाद लाकोजु, सुरेशकिरण मानन्धर, ह्दयचन्द्र मिश्रलगायतले लाछीका दुई पुस्तकले मध्यपुरथिमिका कला, संस्कृति, इतिहास, भाषा, गीत, सङ्गीत र सम्पदाको इतिहास भएको चर्चा गर्दै यसले विगतदेखि वर्तमानसम्मका धरोहरलाई जोगाएर राख्ने बताए ।

साहित्यकार, भाषाविद् एवं पुस्तक लेखक लाछीले कला, संस्कृति, साहित्य र सम्पदाको संरक्षण, संवर्द्धनमा आफूले भोगेका र गरेको कार्यलाई प्रस्तुत गरेको बताए । दोस्रो पुस्तकमा भने बागमती प्रदेशभरिका मूर्त र अमूर्त गीत–सङ्गीतको संरक्षण गर्ने उद्देश्यले यहाँलाई पुस्तकमार्फत संस्थागत गर्ने प्रयास गरेको बताए ।

मध्यपुरकला परिषद्का अध्यक्ष सन्तकुमार प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा लेखक लाछीको ७५औँ जन्मोत्सवको अवसरमा विभिन्न संस्थाले सम्मानपत्र प्रदान गर्दै सम्मान गरेका थिए । –रासस

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  २१:१६
प्रतिक्रिया दिनुहोस्