मुख्य राजनीतिक दलमा परोक्ष केन्द्रविन्दु

गणतन्त्रको ‘रसपान गर्न’ उदाएका शक्तिशाली छोरी–श्रीमति

शुक्रबार, मंसिर ८, २०८०

काठमाडौंप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले मन्त्रिपरिषदको बैठकमा समेत हस्तक्षेप गर्दै आएको आरोप लाग्न थालेका छन्।

यो आरोप अन्य कसैले नभएर केही महिनाअघि भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा सदस्यहरूले लगाएका थिए। सच्चिनका लागि माओवादीका अध्यक्षसमेत रहेका प्रचण्डलाई भने पनि अवस्था ज्युँका त्यूँ रहेको केन्द्रीय सदस्यहरूले बताउन थालेका छन्।

अहिले गणतन्त्रविरुद्ध सडकमा आवाज बलियो बन्दै जानुको कारण पनि आफ्ना नातागोतालाई शक्ति केन्द्रको अदृश्य सत्ताबाज बनाउने प्रचलन गरेको टिप्पणी हुन्छन्।

बालुवाटारमा कुनै पनि निर्णय गर्ने स्थिति आयो, प्रधानमन्त्रीसँग गुनासो गर्ने अवस्था आयो भने पहिला छोरीको अनुमति लिनुपर्छ, माओवादीका एक नेता भन्छन्,‘यो कुन ताकतको परिणाम हो? के योगदानका कारण यत्रो भिटो पावर दिइएको हो।

गणतन्त्र बदनाम हुनुको कारण पनि यसमा शक्ति केन्द्रको आडमा रसपान गर्न उदाएका नयाँ अनुहार रहेको बताइन्छ। खासगरी, माओवादी युद्ध र शान्ति प्रक्रिया हुँदै हालसम्म पनि कुनै योगदान नगरेकी गंगाको ताकत देखेर प्रतिनिधि सभा सदस्यहरू नै जिल खान्छन्।

सर्लाही२ मा स्वतन्त्र सांसद उठेर जितेका अमरेश सिंहले प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफ्ना क्षेत्रका गुनासा राख्ने समय माग्दा स्वकीय सचिव रमेश मल्लले गंगा दिदीको अनुमति चाहिन्छ भनेका थिए।

सांसद सिंहले भनेका छन्,‘मैले भेट्ने प्रयास गरिन, प्रधानमन्त्रीलाई जम्काभेट हुँदा सुनाएको थिएँ।

गंगाको आलोचना यतिमा भएको थिएन। केन्द्रीय समितिको सदस्यमा त्यसै ल्याएको, पार्टी र सरकारमा डाडु पुन्यु चलाउने काममा उनको अनुमति अनिवार्य रहेको भनी आलोचना भएको थियो।

सत्ताको अर्को प्रमुख घटक नेपाली कांग्रेसको स्थिति पनि त्यहि रहेको छ।

कांग्रेस केन्द्रीय सदस्य आरजु राणाको पनि लोकतान्त्रिक आन्दोलनका क्रममा प्रत्यक्ष रुपमा खासै योगदान छैन। पति शेरबहादुर देउवा पटकपटक प्रधानमन्त्री भएपछि शक्ति केन्द्रमा रसपान गर्ने उनको ताकत भनेकै चाकरी मन पराउनु रहेको टिप्पणी हुन्छ। अहिले पनि नेपाली कांग्रेसका केन्द्रीय सदस्यदेखि पूर्वमन्त्रीसम्म राणाको चाकरी नगरी सभापति देउवाले गर्ने निर्णयको पात्र बन्न सक्तैनन्।

हरेक नियुक्तिमा आरजुको भूमिका प्रधान हुने गरेको छ। यहाँसम्मकी पछिल्ला पटक त चुनावअघिको सत्ता समीकरण मिलाउने काममा प्रचण्डसम्मले पनि उपयोग गरेका थिए, उच्च स्रोतले भन्यो,‘गणतन्त्रमा प्रतिस्पर्धा र योग्यताको विषय होइन, चाकरीको चरम उत्कर्ष बनाइयो। त्यसकी एक पात्र हुन्।

यसैकारण पनि आरजु बेलामौका विवादमा आएकी थिइन्। उनको मुख्य विवादचाहिँ फ्रि टिकट फ्रि भिसा र डडेल्धुरामा कांग्रेसलाई मत नदिने स्थानीय तहलाई बजेट नपठाउने भन्ने भाषणसम्म हुन्।

अहिले गणतन्त्रमा धाँजा परेको छ भनेर हल्ला गर्नु बेकार छ। कसले गर्दा भयो भन्ने त स्पष्ट नै छ, कांग्रेसका एक नेता भन्छन्,‘पार्टीको संसदीय दलको निर्वाचनसम्ममा फोटो खिचाएर रजगज कसले गरेको थियो भन्ने सबैलाई थाहा छ।

कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उपनिर्वाचनमा तनहुँ१ मा जित निकालेका स्वर्णिम वाग्लेले त हाकाहाकी नै भाउजूको सबै चल्ने भएपछि राजनीतिमा बेथिति मौलाएको टिप्पणी गरेका थिए। यति मात्र होइन, कतिपय कार्यक्रममा आगामी निर्वाचनमा दाजुभाउजुको ज्युहजुरीले कांग्रेस नबौरिने भनी महामन्त्री गगन थापा आफैंले पनि त्यस्तो संकेत गरिसकेका थिए।

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १४:४४
प्रतिक्रिया दिनुहोस्