चिसोले १० दिनमा १० जना भूकम्पपीडितको मृत्यु

आइतबार, मंसिर ३, २०८०

काठमाडौं- पश्चिम नेपालको जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गत कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पबाट घरबारबिहिन भएका भूकम्पपीडितहरुको चिसोका कारण दिनहुँ मृत्यु हुन थालेको छ । एकातिर घरबार बिहिन भएका र भूकम्पमा बाँचेर ज्यान बचाएकाहरुमध्ये बृद्दबृद्दाहरुको अहिले चिसोका कारण मत्यु हुन थालेको छ ।

कात्तिक २४ यताका १० दिनमा जाजरकोटमा मात्रै चिसोले मृत्यु हुनेको संख्या १० पुगेको छ । सरकारले पीडित परिवारका लागि प्रति परिवार एउटा त्रिपाल र एउटा मात्र कम्बल उपलब्ध गराएको र रातभर चल्ने सिरेठो र शित छल्न नसक्दा कतिपय बृद्दवृद्दाको निधन हुन थालेको छ ।

जाजरकोटको बारकोट गाँउपालिकामा मात्रै ४ जना बृद्दबृद्दाको चिसोका कारण निधन भईसकेको छ । एमाले केन्द्रीय सदस्य समेत रहेका जाजरकोटका नेता निरज आचार्यका अनुसार बारकोटमा मात्रै अहिलेसम्म ५५ बर्ष देखि ७९ वर्षसम्मका बृद्दवृद्दाले चिसोका कारण ज्यान गुमाउनु परेको छ ।

बारकोट गाँउपालिका ४ जिरीका ७९ वर्षका नरेन्द्रबहादुर सिंह, १ का ७० वर्षिय डुम्रे पुन, बयालाका ६० वर्षीय कर्णवीर विक र ६ का ५५ वर्षीय वीरबहादुर विकको चिसोकै कारण मृत्यु भएको छ ।

बारकोटमा मात्रै होइन, जाजरकोटको भेरी नगरपालिका, नलगाड नगरपालिका, जुनीचाँदे गाउँपालिका र छेडागाड नगरपालिकामा समेत चिसोका कारण भूकम्पपीडितहरुको मत्यु भएको छ ।
‘‘हिलेसम्म जिल्लामा चिसोका कारण मर्नेहरुको संख्या १० पुगिसकेको छ,’’एमाले केन्द्रीय सदस्य आचार्यले भने,–‘तत्काल पीडित परिवारलाई अस्थायी बासको ब्यवस्थापन, रातभरीको शीत र सिरेठो छल्नका लागि आवश्यकमात्रामा कब्बल उपलब्ध गराउनुपर्ने देखिएको छ ।’

भेरी नगरपालिकामा २ जना, नलगाड नगरपालिकामा २ जनार जुनीजाँदे र छेडागाड मा एक एक जना भूकम्पपीडितको चिसोका कारण मृत्यु भएको छ । यसरी ज्यान गुमाउनेहरु विशेषगरी दमका रोगीहरु रहेको देखिएको छ । चिसोका कारण फोक्सो र मुटुका विरामीहरुलाई बढी समस्या देखिएको र उनीहरुले चिसो थेग्न नसक्दा ज्यान गुमाईरहेको देखिएको छ ।

यी हुन् चिसोका कारण ज्यान गुमाउनेहरु (सूची)

बारकोट गाँउपालिका ४ जिरीका ७९ वर्षका नरेन्द्रबहादुर सिंह
२) बारकोट गाँउपालिका १ का ७० वर्षिय डुम्रे पुन
३) बारेकोट गाउँपालिका, बयालाका ६० वर्षीय कर्णवीर विक
४) बारेकोट–६ का ५५ वर्षीय वीरबहादुर विक
५) भेरी नगरपालिका २ का ८८ वर्षीय धुलेश्वर कार्की
६) भेरी नगरपालिका–४, तल्याउनका केशव भडेल
७) नलगाड नगरपालिका ५ का ८४ वर्षिय गोपालबहादुर रावल
८) नलगाड नगरपालिका ४ का ४८ वर्षिय पम्फा रावल
९) जुनीचाँदे गाउँपालिका–४, का ८९ वर्षीया सुगिली नेपाली
१०) छेडागाड नगरपालिका–१३ का ५६ वर्षीया मनसरी कामी

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १३:२७
प्रतिक्रिया दिनुहोस्