‘सबैमा शौचालयको पहुँच पुग्नुपर्छ’

शुक्रबार, मंसिर १, २०८०

काठमाडौँ- उपसभामुख इन्दिरा रानाले सबै नागरिकमा शौचालयको पहुँच हुनुपर्नेमा जोड दिएका छन् । विश्व शौचालय दिवस २०२३ का अवसरमा आज लालितपुरमा आयोजित कार्यक्रममा उनले कानुनमा मात्रै सीमित नभएर शौचालयको सरसफाइबारे सबैमा जनचेतनाको विकास हुन आवश्यक रहेको बताए ।

सभामुख रानाले शौचालयको प्रयोग गर्न आफैँमा अनुशासन आवश्यक रहेको बताउँदै सुरक्षित शौचालयको प्रयोग गर्नका लागि सचेतना जरुरी रहेको बताए ।

‘स्मार्ट वास सोलुसन’का अध्यक्ष रामदीप साहले विश्वमा तीन अर्ब मानिस शौचालय प्रयोग गर्नबाट वञ्चित रहेको बताए । असुरक्षित शौचालयको प्रयोगबाट विश्वमा दैनिक एक हजार बालबालिकाको मृत्यु हुने गरेको तथ्य प्रस्तुत गरे ।

नेपालमा ५० वटा शौचालयको सर्वेक्षणमा तीन वटामात्रै प्रयोग गर्न उपयुक्त रहेको जानकारी दिए । उनले सार्वजनिक शौचालयको प्रवद्र्धन तथा सुधारका लागि तीन तहकै सरकार लाग्नुपर्ने बताए ।

पूर्वमन्त्री गणेश साहले नेपालको अस्पताल र विद्यालयको शौचालय सबैभन्दा फोहर रहेको बताए । उनले एक जनालाई उपचार गर्न अस्पताल लैजाँदा शौचालयका कारण बिरामी कुरुवा पनि रोगी भएर फर्किनुपर्ने अवस्था रहेको बताए । पानीको सरसफाइ, स्वच्छताबारे सबै निकायले काम गर्न जरुरी रहेको उनको भनाइ छ ।

वाटर यड नेपालका प्रतिनिधि तृप्ती राईले सार्वजनिक शौचालय सुधारमा विस्तारै परिवर्तन आइरहेको बताए । उनले शौचालयको प्रयोगबारे प्रभावकारी नीति निर्माण गर्न आवश्यक रहेको बताए । शौचालय बनाउँदा लैङ्गिक समानतालाई ध्यान दिएर बनाउनुपर्ने बताए । नेभेम्बर १३ देखि १९ सम्म विश्व शौचालय दिवस मनाउने गरिन्छ । यस वर्षको नारा ‘परिवर्तनका लागि तीव्रता’ रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १३:५७
प्रतिक्रिया दिनुहोस्