तिहारमा जुवा खेल्दा काठमाडौं उपत्यकाबाट १६५ जना पक्राउ

बिहीबार, कात्तिक ३०, २०८०

काठमाडौं- काठमाडौं उपत्यकामा तिहारको समयमा जुवा खेलेको आरोपमा १६५ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं एसएसपी दिनेशराज मैनालीले जारी गरेको विज्ञप्तिअनुसार जुवा खेलेको आरोपमा १६५ जना पक्राउ परेका हुन् ।

यो संख्या दसैं सकिएपछि अर्थात कात्तिक ११ गतेदेखि कात्तिक ३० गतेसम्मको हो।

तास र लंगरबुर्जा खेलेको आरोपमा काठमाडौंका १२ स्थान, ललितपुरबाट २ स्थान र भक्तपुरबाट दुई स्थानमा प्रहरीले छापा मारेको थियो।

जहाँबाट १३३ जनालाई पक्राउ गरी २१ लाख ७१ हजार ३३५ रुपैयाँ नगद, २० हजारको चेक र ६९ बुक तास बरामद गरेको छ।

त्यसैगरी कौडा खेलेको आरोपमा प्रहरीले ३२ जनालाई पक्राउ गरेको छ। उनीहरूबाट १२ लाख ९१ हजार ५५० रुपैयाँ बरामद गरेको हो।

यसैगरी पटाकाहरू पनि प्रहरीले बरामद गरेको छ। पटाकासहित प्रहरीले ८ जनालाई नियन्त्रणमा समेत लिएको छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  १६:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार