अमेरिका र चीनका राष्ट्रपतिबीच भेटवार्ता

बिहीबार, कात्तिक ३०, २०८०

काठमाडौं - अमेरिका र चीनका राष्ट्रपतिबीच क्यालिफोर्नियामा भेटवार्ता भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी जिनपिङबीच अमेरिकाको क्यालिफोर्नियामा आयोजित एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको क्रममा सनफ्रान्सिस्कोस्थित फिलोली एस्टेटमा भेटवार्ता भएको हो ।

दुई देशबीचको तिक्त सम्बन्ध सुधार्न बाइडेन र सीबीचको यो भेटवार्ता लामो समयदेखिको तिक्तता घटना सहयोगी बन्ने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भेटवार्तापछि करिब २० मिनेट लामो पत्रकार भेटघाटमा अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका र चीन बीच सैन्य सम्पर्क फेरि स्थापित हुने बताएको बीबीसीले जनाएको छ ।

अमेरिकासँग सधैं स्थीर, स्वस्थ र टिकाउ सम्बन्ध राख्न चीन प्रतिबद्ध रहेको भन्दै सीले एक अर्कालाई सम्मान गर्दै शान्ति र सहअस्तित्वको सम्बन्धमा जोड दिएका थिए ।

अमेरिका र चीन बीच अविश्वासको खाडल हुन नहुने भन्दै सीले भने, ‘अमेरिका र चीनलाई अलग्याउने असहमतिको खाडल हुनुहुँदैन । यसको सट्टा दुवै पक्षलाई जोड्ने पुल बनाउने तरिका खोज्नु आवश्यक छ ।’

सन फ्रान्सिस्कोमा दुई देशका राष्ट्रपति बीच भएको भेटपछि भने अमेरिकी राष्ट्रपति बाइडेनले सैन्य सम्पर्क पुनः बहाल हुने र चिनियाँ राष्ट्रपति सीसँग सम्वाद जारी रहने बताएका छन् ।

 

   

प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  १०:५७
प्रतिक्रिया दिनुहोस्