शिकार खेल्ने भरुवा बन्दुकको गोली लागेर मारिएका थिए सशस्त्र प्रहरी जवान चौधरी

शनिबार, कात्तिक २५, २०८०

काठमाडौं सशस्त्र प्रहरी बलका जवान जुगारु चौधरीको शिकार खेल्ने भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको पुष्टि भएको छ।

दाङको घोराही उपमहानगरपालिका हर्नियाका ३० वर्षीय चौधरीको हत्या अभियोगमा एक जना पक्राउ गरिएको छ।

गाउँका स्थानीयसँगै मालुको पात टिप्न गएका चौधरीको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको दाङ प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण हेडक्वाटर तौलीहवा कपिलवस्तुमा दरबन्दी भई सोही गणमा कार्यरत चौधरी घटनाको तीन दिन पहिले घर बिदामा पुगेका थिए। उनी सामुदायिक बनमा पात टिप्न गएका थिए।

वन्यजन्तुको चोरी शिकारी गर्ने मानिसले हानेको गोली लागेर मृत्यु भएको थियो। उक्त गोली घोराही बरलाबोटका ५५ बर्षीय शेरबहादुर केसीले चलाएको प्रहरीको भनाई छ। केसी प्रहरी हिरासतमा छन्।

सशस्त्र प्रहरी जवान चौधरीको छातीमा पाँच वटा बन्दुकको छर्राको प्वाल लागेको पछाडि पिँठ्यूको भागमा एउटा प्वाल थियो। शव पोष्टमर्टमको लागि राप्ती स्वास्थ्य विज्ञानमा राखिएको छ।

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  १२:५८
प्रतिक्रिया दिनुहोस्