नेपाली कांग्रेसद्वारा नेपाल सम्वत्‌ तथा तिहारको शुभकामना

शनिबार, कात्तिक २५, २०८०

काठमाडौँ - नेपाली कांग्रेस केन्द्रीय कार्यालयले नेपालीहरुको महान चाड तिहार तथा नेपाल सम्वत्‌को नयाँ वर्ष ११४४ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली नागरिकहरुमा सुस्वास्थ, दीर्घायु, सुख, शान्ति र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेको छ ।

शनिबार उक्त पार्टीले एक शुभकामना सन्देश जारी गर्दै नेपाल विभिन्न जात जाति, भाषा-भाषी, धर्म, विभिन्न चाड पर्व एवं विभिन्न संस्कृति भएको र यिनै स.स्कृतिकै कारण एकता बताउँदै अझै तिहारले एक अर्का बिचको सम्बन्धलाई मजबूत बनाउने गरेको जनाएको छ ।

शुभकामना पत्रमा भनिएको छ ‘तिहार अर्थात यमपञ्चकका हरेक दिनले समस्त नेपालीहरुमा नयाँ उमंग सिर्जना गर्न दिदीबहिनी र दाजुभाइहरु बीच तथा आफन्तहरु बीचमा सुमधुर र सौहार्द सम्बन्ध विकसित गर्न सघाएको छ । त्यसैगरी, बागमती सभ्यतालाई नेपालको भाषा, साहित्य, कला र संस्कृतिको उत्थान काल मानिन्छ । नेपाल सम्वत् त्यही जागरण कालको इतिहास र संस्कृतिको एक जीवन्त धरोहर हो । नेपाल सम्वत्को नयाँ दिनले हरेक वर्ष हामी सबैलाई यसका प्रणेता शंखधर साख्वाः को योगदानलाई सम्झाउँछ । यसको प्रचलन तिनै समाजसेवी साख्वा ले सबैको ऋण मोचन गरिदिएको अति परोपकारी कार्यको सम्झनामा भएको हो । शंखधर साख्वा लाई उहांको उदारताको कदर गरेर हामीले राष्ट्रिय विभूतिको रुपमा सम्मान गरेका छौं । अन्त्यमा, अन्धकार विनास गर्ने उज्यालोको पर्व तिहार र हाम्रो आफ्नै धरतीबाट उठेको नेपाल सम्वत्को नयाँ दिनले हाम्रो पारस्परिक एकता र सद्भावलाई अगाडि बढाउन सकोस् भन्दै, तिहार तथा नेपाल सम्वत्को नयाँ वर्षको उपलक्ष्यमा म सबैमा सुख, शान्ति र समृद्धिको पुनः शुभकामना व्यक्त गर्दछु ।’

 

 

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  ०८:५०
प्रतिक्रिया दिनुहोस्