शीर्ष नेतृत्वको बैठकलाई रवि लामिछानेको व्यंग्य–‘सर्वदलीय हेड सर’हरु यता सुन्नुस् है

मंगलबार, कात्तिक २१, २०८०

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापति रवि लामिछानेले आज बसेको मुख्य राजनीतिक दलका शीर्ष नेतृत्वको बैठकलाई व्यंग्य गर्दै  भुकम्प पीडितको राहतमा केन्द्रित हुन आग्रह गरेका छन् ।

आज सभापति लामिछानेले फेसबुकमार्फत बैठकमा सहभागी शीर्ष नेतृत्वलाई ‘सर्वदलीय हेड सर’को संज्ञा दिँदै भुकम्प पीडितको राहतमा केन्द्रित हुन आग्रह गरेका हुन् ।

उनले लेखेका छन्, ‘आज बैठक गर्ने सबै पार्टी मिलेर भुकम्प पीडितका घरमा पाल र ब्लान्केट पुर्याउनुहोस् र यो चिसोमा जनता जोगाउनुस् । ब्यवस्था आफै जोगिन्छ, परिवर्तन आफै जोगिन्छ । सुत्केरीहरुको जिउ सुन्निएको छ, अस्थाइ शौचालय छैन, पुरिएका चौपायाका कारण महामारी फैलने डर छ ।’ 

भुकम्प पीडितको लागि जुटाइदिएको पाल, चामल, दाल समयमै बाड्न नसक्ने अनि चिन्ता ब्यवस्थाको, परिवर्तन को? भन्दै उनले प्रश्नसमेत गरेका छन् ।  उनले अगाडी लेखेका छन्, ‘तपाईंहरुले सक्नु हुन्न भने भन्नुस्, रास्वपाले सक्छ र रास्वपा तयार छ त्यो पनि पुनर्निर्माण सम्मको जिम्मा लिन तयार छ । फेरि पनि भन्छु, ब्यवस्थामा खतरा छैन, भए पनि जोगाउने जनता छन् । तिनको जीवन रक्षा गरिदिनुस् ।’ 

उनले परिवर्तनका लागि तातो गोली खानपछि नहटेका जाजरकोट, रुकुम, बझाङका जनतालाई यो चिसोमा आकाश मुनि सुत्न बाध्य पारेर परिवर्तन जोगाउने बैठकको दृश्यले आँखा नराम्ररी बिझाएको भन्दै लेखेका छन्, ‘उद्दार कार्य उत्कृष्ट थियो तर राहत बितरण कत्तिपनि सहि भएन ।’

प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा आज सिंहदरबारमा बसेको मुख्य राजनीतिक दलका शीर्ष नेतृत्वको बैठकले बाह्रबुँदे सहमति, शान्ति प्रक्रिया र संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका दलका नेताबीच गणतन्त्रलाई सुदृढीकरण गर्दै अघि बढ्ने सहमति गरेका छन् ।

छलफलमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलगायतका शीर्ष नेताको उपस्थिति थियो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १९:५५
प्रतिक्रिया दिनुहोस्