कृषकलाई ५० प्रतिशत अनुदानमा उन्नत जातका आलुको बीउ

आइतबार, कात्तिक १९, २०८०

दमौली– तनहुँको व्यास नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत जातका आलुको बीउ वितरण गर्न सुरु गरेको छ ।  

विभिन्न कृषक समूह, सहकारी, सामूहिक खेती र व्यक्तिलाई वडा कार्यालयको सिफारिसमा सम्बन्धित टोल विकास संस्थामार्फत नगरपालिकाले बीउ वितरण सुरु गरेको हो । 

नगरपालिकाले जनकदेव र एमएस ४२.३ उन्नत जातका करिब ४० टन आलुको बीउ वितरण सुरु गरेको छ । उन्नत जातको बीउ वितरण गर्न नगरपालिकाले २० टन एक सय ७७ केजी जनकदेव रातो र १८ टन नौ सय ५५ केजी एमएस निलो गरी कुल ३९ टन पाँच सय ७ केजी उन्नत जातका आलुको बीउ ल्याएको कृषि, पशुपंक्षी तथा सहकारी विकास शाखा प्रमुख डा मनोज विश्वकर्माले जानकारी दिए । 

नगरपालिकाका १४ वटै वडाका किसानको माग अनुरुप वडा कार्यालयबाट सिफारिस भएर आएका किसानलाई टोल विकास संस्थाबाट आलुको बीउ वितरण गरिने शाखा प्रमुख विश्वकर्माले जानकारी दिए । उनले भने, “प्रत्येक वडाबाट सिफारिस भइ आएका मागका आधारमा सम्बन्धी टोल विकास संस्थालाई बीउ उपलब्ध गराएका छौँ, टोल संस्थाबाट नै किसानलाई बीउ वितरण हुनेछ ।” 

उन्नत जातको जनकदेव आलुको बीउको मूल्य प्रतिकिलो ३२ रुपैँया ५ पैसा कायम गरिएको छ भने एमएस उन्नत जातको आलुको बीउको मूल्य प्रतिकिलो २७ रुपैँया ५ पैसा कायम गरिएको छ । आजदेखि देखि १४ वटै वडाका टोल विकास संस्थालाई आलुको बीउ वितरण गर्न सुरु गरिएको छ । जस अनुसार वडा नम्बर १ मा सात सय केजी जनकदेव, वडा नम्बर ३ मा तीन सय ६५ केजी एम एस, वडा नम्बर ४ मा छ सय ९५ केजी एमएस, वडा नम्बर ५ मा तीन हजार सात सय ४० केजी एमएस र तीन हजार एक सय ४५ केजी जनकदेव आलुको बीउ वितरण गरिएको छ । 

त्यस्तै, वडा नम्बर ६ मा तीन सय ७० केजी एमएस र तीन हजार आठ सय ५० केजी जनकदेव, वडा नम्बर ७ मा दुई सय ६० केजी एमएस र एक हजार एक सय १० केजी जनकदेव, वडा नम्बर ८ मा दुई हजार छ सय ३५ केजी एमएस र एक हजार नौ सय ३० केजी जनकदेव, वडा नम्बर ९ मा एक हजार पाँच सय ८० केजी एमएस र दुई हजार छ सय ५५ केजी जनकदेव, वडा नम्बर १० मा तीन हजार छ सय ८५ एमएस र दुई हजार पाँच सय ३२ जनकदेव, वडा नम्बर ११ मा चार हजार चार सय ५७ केजी एमएस र दुई हजार तीन सय ५५ जनकदेव, वडा नम्बर १२ मा तीन १२ केजी एमएस र छ सय २० जनकदेव, वडा नम्बर १३ मा पाँच सय ४५ केजी एमएस र तीन सय ४० केजी जनकदेव, वडा नम्बर १४ मा दुई सय ९० केजी एमएस र नौ सय ५० केजी जनकदेव आलुको बीउ वितरण गरिनेछ । 

नगरपालिकामा करिब छ सय रोपनी क्षेत्रफलमा आलुखेती हुने गरेको छ । आलुमा अनुदान दिन थालिएपछि यहाँका कृषक यसतर्फ आकर्षित हुँदै गइरहेका छन् । 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  २०:२१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार