राष्ट्रियसभामा तीन आयोगका प्रतिवेदन प्रस्तुत

मंगलबार, कात्तिक १४, २०८०

काठमाडौँ– राष्ट्रियसभामा आज तीन आयोगका प्रतिवेदन प्रस्तुत भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का  तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले निर्वाचन आयोग, नेपालको सोह्रौँ वार्षिक प्रतिवेदन २०७८/७९, राष्ट्रिय दलित आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७९/८० र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तेत्तीसौँ वार्षिक प्रतिवेदन २०७९/८० प्रस्तुत गरेका हुन् ।

विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ सम्बन्धी समितिको प्रतिवेदन बैठकमा पेस गरे ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पेस गरेकोमा त्यसलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकको शून्य समयमा सांसद अनिता देवकोटाले दाङ–घोराही–तुल्सीपुर सडकको मर्मतसम्भारका लागि सरकारको ध्यानाकर्षण गराए । अर्का सांसद प्रकाश पन्तले पृथ्वी राजमार्गलगायत राष्ट्रिय राजमार्गको दु्रावस्था रहेकाले तिनको मर्मत गर्न माग गरे ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १८:०६
प्रतिक्रिया दिनुहोस्