पाक्न लागेको धानमा ‘पोके’ र हावाहुरी, चिन्तामा किसान

आइतबार, कात्तिक १२, २०८०

गलेश्वर– म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटको खेतमा  पाक्नै लागेको धानमा ‘पोके’ रोग र ‘फड्के’ किराको प्रकोप देखिएपछि म्याग्दीका किसान चिन्तित भएका छन् ।

धानबालीमा डरलाग्दो मानिने गवारो, खैरो फड्के किरा र पोके रोग अहिले म्याग्दीको धानबालीमा देखापरेको छ । धान लहलह झुल्ने समयमा रोगको प्रकोपले धानको बाला नष्ट हुन थाल्दा धान उत्पादन घट्ने चिन्तामा किसान छन् । धानबालीमा प्रकोपकैरूपमा बाला नष्ट हुन थालेको बेनी नगरपालिका–२ बगरफाँटका खड्गबहादुर घिमिरेले बताए ।

जिल्लाको बेनी नगरपालिकासहित रघुगङ्गा, मालिका, मङ्गला, अन्नपूर्ण र धवलागिरि गाउँपालिकाका धान उत्पादन हुने फाँटहरुमा गवारो र खैरे फड्के किराको प्रकोपका कारण धानको बाला नष्ट हुने र बोट हरियोमै सुक्दै जाने समस्या देखापरेको सम्बन्धित स्थानीय तहका कृषि प्राविधिकहरूले बताएका छन् ।

रैथाने धानको बीउ गौरिया, गुडुरा, ताकमारे, आँगा, जौधान लगाइएका ठाउँमाभन्दा आयातित विकासे बीउ रोपिएको धानका फाँटमा रोग र किराको समस्या बढी देखिएको मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए ।

धानबाली भित्र्याउने अन्तिम समयमा देखापरेको रोगले यस वर्ष धान उत्पादन घट्न सक्ने बगरफाँटका कृषक जीतबहादुर कार्कीको भनाइ छ । रत्नेचौर, बगरफाँट, फापरखेत, सीमलगायत बढी धान उत्पादन हुने फाँटमा लगाइएको धानबालीमा समेत गबाँरो, राते र खैरे थोप्ले रोगको प्रकोप देखापरेको म्याग्दीका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताए ।

गवारो र खैरे फड्के रोगको सङ्क्रमणबाट धानबाली जोगाउन सम्बन्धित पालिकाका कृषि प्राविधिक र किसानसँग रोगको नियन्त्रणबारे समन्वय भइरहेको कृषि ज्ञानकेन्द्र म्याग्दीले जनाएको छ । म्याग्दीका किसानमा पछिल्लो समय कृषि औजार र उपकरणको प्रयोगप्रति आकर्षण बढेको छ । हल गोरुको विकल्पमा मिनिट्रिलर हलो, ट्र्याक्टरको प्रयोग गर्न थालेका छन् । ठूला गरा भएका र फाँटका खेतमा बाँझो जोत्नेदेखि रोपाइँ गर्न ट्र्याक्टर र मिनिट्रिलर प्रयोग गरेका छन् । गोरुले एक दिनमा जोत्ने खेत ट्र्याक्टर र मिनिट्रिलरले एकै घण्टामा सक्ने हुँदा काम छिटो हुने बगरफाँटका कृषक भीमबहादुर रिजालले बताए ।

गत वर्ष तीन हजार नौ सय २५ हेक्टरमा १३ हजार छ सय २६ मेट्रिकटन धान उत्पादन भएको थियो । तर यस वर्ष भने धान लगाउने समयमा रासायनिक मल र सिँचाइको अभाव हुनुका साथै धान भित्र्याउने समयमा भएको मौसमी प्रतिकूलता र रोग किराको प्रकोपका कारण उत्पादन घट्ने भएको छ ।

वर्षा र हावाहुरीबाट क्षति

असोज अन्तिम साताको बेमौसमी वर्षा र हावाहुरीका कारण जिल्लाको सयौँ हेक्टर क्षेत्रफलमा गरिएको धानबालीमा क्षति पुगेको छ । वर्षा र हावाहुरीका कारण पानीले भिजेर र हावाहुरीले धानका बोट ढलाएपछि धान बालीमा क्षति पुगेको स्थानीय तहका कृषि प्राविधिकले जनाएका छन् । 

पाक्नै लागेका धानको बोट हावाहुरीले ढलाएपछि पानीले भिजेर क्षति पुगेको हो । जिल्लाको लेकाली क्षेत्रमा पाकेर काट्ने बेलाको धान लगातारको वर्षाले भिजेर खेतमा नै धानको दाना झरेका कारण क्षति पुगेको छ भने तल्लो क्षेत्रमा पाक्ने लागेका धानको बोट हावाहुरीले ढलाएपछि दाना पोटिलो नहुनुका साथै खेतमा नै दाना झरेकाले उत्पादन कम हुने देखिएको छ ।    

जिल्लाका रत्नेचौर, बगरफाँट, फापरखेत, गरापानी, खबरा, सीम, बाबियाचौर, पुलाचौर, अर्मन, कुहूँ, देवीस्थानलगायत ठाउँमा लगाइएको धानबालीमा क्षति पुगेको स्थानीय कृषकले बताएका छन् । यस वर्ष धानमा रोग किराको प्रकोप नदेखिएको र सिँचाइको सुविधा पनि पुगेकाले विगतका वर्षका तुलनामा धान उत्पादनमा वृद्धि हुने अपेक्षा किसानले गरेका थिए । थन्क्याउने बेलाको बेमौसमी वर्षा र हावाहुरीका कारण धान बालीमा क्षति पुगेको बेनी नगरपालिका–२ ज्यामरुककोटका किसान नारायण सापकोटाले बताए ।

म्याग्दीमा गौरिया, जेठो बुढो, जर्नेली, पहेँले, मार्सी, ताकमारे, भट्टे, छमरुङ, माछापुच्छ्रे अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २ लगायतका उन्नत जातका धानखेती हुने गर्छ । वार्षिक चार हजार मेट्रिकटन धान उत्पादन हुने केन्द्रको तथ्याङ्क छ । जिल्लाको उच्च पहाडी क्षेत्रमा भिरालो जमिन र सिँचाइ आवश्यक नपर्ने घैया जातको धानखेती हुन्छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १८:४९
प्रतिक्रिया दिनुहोस्