माओवादीको ‘ढोक्सा’ले कत्तिको काम गर्ला? कांग्रेस–एमाले समीकरण सम्भावनाका दलील यस्ता छन्

आइतबार, कात्तिक १२, २०८०

काठमाडौं– एमालेलगायतको दलको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भई विश्वासको मत दिने क्रममा नेपाली कांग्रेसलगायतका दलको पनि मत पाउँदा प्रचलनमा आएको थियो– ढोक्सा थाप्ने काम। 

एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थापित गरेको राजनीतिक गतिविधिभित्र यहि ‘स्ल्याङ’ चर्चामा रहेको बेला पुनः यहि प्रवित्तिको परिघटनासँगै गठबन्धनको समीकरणका विषयमा पनि अनेक टिप्पणी सुरु भएका छन्। 

खासगरी राजनीतिक वृत्तमा देखिएका चित्र र वृत्तचित्रले यस्तो चर्चा चुलिएको हो।  नेपाली कांग्रेसको शेखर कोइराला पक्षले नेकपा एमालेसितका समीकरणमा कोशी प्रदेश सरकार बनाएपछि राजनीतिमा नयाँ तरङ्ग आएको थियो तर पछिल्ला गतिविधिले भने गठबन्धनमा नै धक्का पुग्न सक्ने सम्भावना देखा परेको हो।

नेपाली कांग्रेसले गरेको पर्वलक्षित चियापान कार्यक्रममा सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको हार्दिकताले गठबन्धन संकटमा पर्न सक्ने संकेत देखा परेको हो। जबकि, कोशी प्रदेशमा पनि देउवाले मुख्यमन्त्रीमा केदार कार्कीलाई विश्वासको मत दिने निर्णय लिन बाध्यकारी भएका थिए।

यद्यपि, सत्ता गठबन्धनको अर्को घटक नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका दलले पनि कार्कीका पक्षमा मत दिएका थिए। 

देउवा गठबन्धनबाट दुई बर्ष होइन, तीन बर्ष नै प्रधानमन्त्री बन्ने दाउमा छन् । हैन भने सुरुका दुई बर्ष प्रधानमन्त्रीमा आफूलाई उभ्याएर अन्तिम अर्थात् चुनावी सरकारको नेतृत्व ओलीको पोल्टामा राख्नका लागि पनि उनलाई कुनै आपत्ति नरहने कांग्रेस उच्च स्रोतले जनाएको छ। 

‘हामीले एमालेलाई बाइकट गरेर जाने स्थिति छैन। जसरी कोशीमा एमालेबिना कांग्रेसको सरकार रहने स्थिति हुँदैन, त्यसैगरी केन्द्रमा पनि समीकरण परिवर्तन हुन सक्छ’, एक नेता भन्छन्, ‘आगामी चुनावमा पनि गठबन्धन नहुने निश्चितप्रायः भएको स्थितिमा अहिलेको समीकरण बोकेर हिँड्न कांग्रेस बाध्यकारी छैन।’

समाजवादी मोर्चाको पोखरामा भएको एउटा कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसमाथि जोडदार प्रहार गरेका थिए। उनले ५४ सिटको मोर्चाको दबाबमा कांग्रेस लत्रिएकोसम्म भन्न भ्याए। यहि विषयले कांग्रेसभित्र नयाँ परिचर्चा र समीकरण छाड्नुपर्ने आवाज बलियो हुँदै आएको छ। 

कांग्रेसका एक पदाधिकारी भन्छन्,‘प्रचण्डले हामीलाई दबाबमा राखेको सन्देश छरेका छन्। हामी दबाबमा छैनौं बरु हाम्रो काखमा माओवादीले रजाँई गरेको छ भन्ने सन्देश दिनका लागि पनि गठबन्धन भत्किने सम्भावना बलियो छ।’

तर माओवादी केन्द्रले गठबन्धन जोगाउने नाममा कोशी प्रदशेमा कार्कीलाई विश्वासको मत दिएर ढोक्सा थापिसकेको छ। यद्यपि, कार्कीले मन्त्रिपरिषद विस्तारमा कस्तो नीति र बाटो अपनाउनेछन् यसले गठबन्धनको क्षणिक आयुदेखि एमालेसँगको सहकार्यको मितिसम्म तय गर्न सक्छ।

कांग्रेस पदाधिकारी नै अहिलेको गठबन्धनसँग रुष्ट छन् । महामन्त्री गगन थापादेखि सांसद सुनिल शर्मासम्म माओवादीसँगको सहकार्यमा खुसी छैनन्। महामन्त्री थापाले आगामी निर्वाचनमा कांग्रेस एक्लै मैदानमा उत्रिने दाबी गरेका छन्। 

यति मात्र होइन, जता जे भत्किए पनि बिग्रिए पनि आगामी चुनावमा कांग्रेस एक्लै चुनावमा नगए स्थिति फरक हुने बताएपछि यसको दबाबमा सभापति देउवा परेका छन्। कोइरालाको कोशी विद्रोको यो संकेतसँगै दबाबमा रहेका देउवाले फरक समीकरण बनाउन सक्ने यत्तिकै आँकलन गरिएको होइन, कांग्रेस–एमाले एक ठाउँमा उभिने सम्भावना पनि बलियो देखिन्छ।

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  ११:२८
प्रतिक्रिया दिनुहोस्