के एमालेमा ओलीको विकल्पमा तयार हुँदैछिन् पूर्वराष्ट्रपति भण्डारी?

सोमबार, असोज २९, २०८०

काठमाडौं– पछिल्ला दिनमा कतिपय नेता पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निवासमा पुग्ने गरेका छन् । सामान्य औपचारिक भेट जस्तो देखिने ति गतिविधिलाई राजनीतिक रुपमा पनि टिप्पणी र व्याख्या गरिन थालिएको छ ।

एमालेमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प नै छैन भन्ने भाष्य निर्माण गरिरहेको सन्दर्भमा भण्डारीलाई त्यो कोणबाट पनि हेर्न थालिएको छ । यद्यपि, ओलीनिकट मानिने उपमहासचिव पृथ्वी सुब्बा गुरुङले भण्डारी राजनीतिमा आउन सक्ने भए पनि ओलीको विकल्पमा नहेरिएको टिप्पणी गरिसकेका छन् ।

एउटा अन्तरवार्तामा ओलीले भण्डारी राजनीतिमा आउन सक्ने बताए पनि पार्टीको अध्यक्षको आकांक्षी नबने बताएका थिए । यस अर्थमा कहिँ न कहिँ एमालेमा भण्डारी आउँदा आफ्नो विकल्प तयार हुन सक्ने ओलीको मनमा त्रासचाहिँ छ ।

एमालेमा ७० बर्षको उमेर हद हटेको छ। यो केबल ओलीलाई अध्यक्ष कायम राख्नका लागि हटाइएको भन्ने एकथरी चर्चा छ । यसो हुँदा ओलीको विकल्पमा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतले भण्डारी अगाडि सार्ने सम्भावना रहेको छ । यसमा अर्को तर्क गर्ने आधारचाहिँ पोखरेलले तत्कालिन महासचिव मदन भण्डारीसँग रहेर लामो समयसम्म काम गरेका थिए।

पोखरेलले अब महासचिव हुने या बरिष्ठ उपाध्यक्ष पदमा नै नरहने घोषणा गरिसकेका छन् । यसर्थ उनी अध्यक्षका लागि एक चरणको अभ्यासमा लाग्ने पक्कापक्की छ । त्यस्तो स्थिति नआएको खण्डमा उनले ओलीको समानान्तर उम्मेदवार पनि तयार पार्न सक्ने सम्भावना रहेको छ ।

एमाले विभाजन गरी माधवकुमार नेपाल, झलनाथ खनाललगायतले नेकपा एकीकृत समाजवादी गठन गरेपछि ओलीको एकाधिकार स्थपित भएको मानिन्छ । यसैकारण पनि यो गतिलाई निरन्तरता दिनका लागि आगामी महाधिवेशनमा पनि सर्वसम्मत अध्यक्ष हुने चाहनामा छन्, ओली ।

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १६:४२
प्रतिक्रिया दिनुहोस्